काठमाडौं ।
यसवर्षको एसईई परीक्षा आजदेखि सुरू भएको छ। एसईईमा यसवर्ष नियमित र ग्रेडवृद्धि गरी चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी भएका छन् । परीक्षा आज बिहान ८ बजेदेखि सुरू भएको छ । आजदेखि सुरु भएको परीक्षा चैत २९ गते सकिनेछ ।
यता गण्डकी प्रदेशबाट ४३ हजार १ सय ६४ जना परीक्षार्थी सहभागी भएको शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशका सुचना अधिकारी नारायण प्रसाद पौडेलले जानकारी दिए । नियमित तर्फ ४१ हजार ५१६, प्राविधिक तर्फ १ हजार ३७६ र ग्रेडवृद्धि तर्फका २ सय ७२ विद्यार्थी रहेको सुचना अधिकारी पौडेलले बताए।
गण्डकीबाट कति फरक क्षमताका र दृष्टिविहिन परीक्षार्थी सहभागी छन् भन्ने यकिन डाटा भने निर्देशनालयसँग नभएको उनले बताए । गण्डकी प्रदेशमा २ सय २२ परीक्षा केन्द्र निर्धारण गरिएको छ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार २०७९ मा एकैवर्ष दुईवटा एसईई हुने भएको छ । यसअघि, वर्ष २०७८ का लागि २०७९ वैशाख ९ देखि २० गतेसम्म एसईई सञ्चालन भएको थियो ।
त्यसअघिका दुई वर्ष कोरोना महामारीका कारण आन्तरिक मूल्यांकन विधिबाट परीक्षा सञ्चालन गरिएको थियो । यो वर्ष विद्यार्थीको भौतिक उपस्थितिमा दुई हजार ३७ केन्द्रबाट परीक्षा लिइने बोर्डले जनाएको छ ।
यसवर्षको एसईईमा सहभागी परीक्षार्थीमध्ये दुई लाख ४२ हजार ६७४ छात्र र दुई लाख ४२ हजार ७१२ छात्रा सहभागी छन् ।
यीमध्ये नेपाली विद्यार्थी अध्ययनरत एभरेष्ट इन्टरनेसनल स्कुल जापानबाट पनि १४ जना विद्यार्थी परीक्षामा सहभागी लागेका छन् ।















