पोखरा ।
नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य प्रतापलाल श्रेष्ठसहितका नेताहरुसंग एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले खिचेको सामुहिक तस्बिर यतिबेला चर्चामा छ । श्रेष्ठसहितका समाजवादीका प्रभावशाली नेताहरुले एस छाड्न लागेको दाबी गरिएका समाचार सार्वजनिक भइरहँदा एकीकृत समाजवादीका गण्डकी सचिव समेत रहेका श्रेष्ठले आफूहरको तस्बिर पोष्ट गरेर भ्रमको खेती गर्न खोजिएको टिप्पणी गरेका छन् ।
उनका अनुसार १० चैतमा श्रेष्ठसहितका एकीकृत समाजवादीका नेताहरु काठमाडौंबाट तनहुँ फर्कँदै थिए । त्यस क्रममा काठमाडौं जाने क्रममा रहेका एमाले उपमहासचिव गुरुङसंग खानीखोला भन्दा माथि सिक्रे खोला भन्ने ठाउँमा चिया खाने क्रममा जम्काभेट भएको र त्यस क्रममा उपमहासचिव गुरुङमकै आग्रहमा फोटो खिचिएको हो ।
उनले त्यसक्रममा एमाले विभाजन भएर समाजवादी निर्माण हुनुमा माधव नेपालको मात्र दोष नरहेको र पार्टी विभाजन हुनुको दोषी केपी ओली पनि भएको एमाले उपमहासचिव गुरुङले बताएको जानकारी दिए । ‘हामी १० चैतमा काठमाडौंबाट फर्कँदै थियौं । उहाँहरु (पृथ्वी सुब्बा गुरुङ) काठमाडौं जाने क्रममा हुनुहुँदोरहेछ । चिया खाने पसल एउटै परेछ । त्यसक्रममा गफ भएको हो । पिएस कम्रेडले पार्टी विभाजन हुनु दुखद् हो भन्नुभयो । हामीले पनि दुखद् नै ठानेका छौं भन्यौं । यसमा दोषी माधव नेपाल मात्र होइन, हाम्रो अध्यक्ष केपी ओलीे पनि दोषी हो भनेर उहाँले भन्नुभयो । त्यसलाई रिअलाइज गरेर पार्टी एकता तर्फ अगाडि बढ्नुपर्छ भन्नुभयो । हामीलेपनि गल्ति रिअलाईज गरे पार्टी एकताको कुरा टाढा नरहेको तर यसका लागि शीर्ष नेताहरु नै बस्नुपर्ने बतायौं ।
१० पुसमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन आफूले (पिएस), सुवास नेम्वाङ र विष्णु पौडेलले पहल गरेको तर त्यो टिक्न नसकेको बताउनुभयो । अनि केन्द्रमा नमिलेपनि तलका नेता कार्यकर्ता भएपनि मिल्नुपर्छ भन्नुभयो । हामीले तनहुँ १ मा समाजवादीले पनि उम्मेद्वारी दिने कुरा केन्द्रमा गरेर फर्केको जानकारी दियौं । कुरा भएको यत्ति हो ।’ उलने भने, ‘अहिले त्यतिबेला उहाँले नै आग्रह गरेर खिचिएको तस्बिर राखेर भ्रम सृजना गर्नेकाम भएको छ । यो भ्रम छर्ने बाहेक अरु केही होइन’
श्रेष्ठले यस्ता भ्रमले आफ्नो पार्टीका नेता कार्याकर्ता विचल्लित नहुने समेत बताएका छन् । ‘यो बेला हाम्रा विषयमा विभिन्नढंगले भ्रम छर्ने कामहरु भइरहेका छन् । यस्ता भ्रमबाट हाम्रा नेता कार्यकर्ता कोही विचिल्लित हुनुहुँदैन र भ्रमको खेतीले केही काम पनि गर्नेवाला छैन’ उनले भने ।













