काठमाडौँ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बेलुका सत्ता साझेदार दलका नेताहरुसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनले सत्ता साझेदार दलका नेताहरुसँग मन्त्रिपरिषद् पुनर्गठनका विषयमा परामर्श गर्न लागेका हुन् । ‘
प्रधानमन्त्री सचिवालयका एक सचिवको अनुसार आज बेलुका प्रधानमन्त्रीले सत्ता साझेदार दलका नेताहरुसँग छलफल गर्ने तयारी गरेका हुन् । शीर्ष तहमा प्रधानमन्त्रीले परामर्श गरेपछि भोलि मन्त्रिपरिषद् पुनर्गठन हुनसक्ने बताइएको छ । सरकारमा जाने दलहरुको टुंगो लागिसकेको छ । कसले कुन मन्त्रालय लिने भन्ने मात्र फाइनल गर्न बाँकी रहेको जनाइएको छ ।
माओवादी केन्द्रले प्रधानमन्त्रीसहित पाँच मन्त्रालय, कांग्रेस आठ मन्त्रालय, राष्ट्रिय स्वतन्त्र पार्टी एक राज्यसहित तीन मन्त्रालय, एकीकृत समाजवादी राज्यसहित ३ मन्त्रालय, जसपा २ मन्त्रालय लिनेगरी छलफल भइरहेको छ ।
यस्तै लोकतान्त्रिक समाजवादी पार्टी९लोसपा० एक, जनमत पार्टी एक र नागरिक उन्मुक्ति पार्टीले एक मन्त्रालय लिनेगरी छलफल चलेको छ । एक सिटे दललाई सहभागी नगराउन सत्ता साझेदार दलका नेताहरुले प्रधानमन्त्रीलाई दबाब दिएका छन् ।













