सबै प्रदेशमा प्रतिपक्षी बन्दै एमाले, कोसी जोगाउने प्रयास

केन्द्रभाग मिडिया

पोखरा।
संसदको दोस्रो ठूलो दल नेकपा एमाले केन्द्रसहित सबै प्रदेशमा प्रतिपक्षमा पुग्ने क्रममा रहेको छ । १० पुसमा एमालेको पहलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि प्रदेशमा गठित एमाले नेतृत्वको सरकार धमाधम सङ्कटमा पर्दै गइरहेको छ ।

प्रतिनिधिसभामा ७८ सिट रहेको एमालेको पहलमा ३२ सिटको तेस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्री बनेपछि एमालेले कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व लिएको थियो । माओवादी केन्द्रले बाग्मती र कर्णाली प्रदेशको मुख्यमन्त्री पाउँदा जनता समाजवादी पार्टीले मधेस प्रदेशको मुख्यमन्त्री पाएको थियो ।

जसमध्ये एमालेले पाएको चार मुख्यमन्त्रीमध्ये सुदूरपश्चिम प्रदेशको नेतृत्व एमालेले राष्ट्रपति निर्वाचनअगावै गुमाइसकेको छ । सो प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता ठूलो दलको हैसियतमा मुख्यमन्त्री बन्दा उनले विश्वासको मतसमेत पाइसकेका छन् ।

सुरुमा सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गुमाएको एमाले राष्ट्रपति निर्वाचनपछि गण्डकी, लुम्बिनी र कोसी प्रदेशको नेतृत्व पनि गुमाउने अवस्थामा पुगेको छ । गण्डकी र लुम्बिनीमा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । यी प्रदेशमा सत्ता गठबन्धनले सरकार गठनको तयारी अगाडि बढाइसकेका छन् ।

बागमती प्रदेशमा माओवादीका मुख्यमन्त्री बाबुराम जम्मरकट्टेलले विश्वासको मत पाइसकेका छन् । यद्यपि, संसदीय अंकगणितका कारण कोसी प्रदेशको मुख्यमन्त्री भने जोगिने झिनो सम्भावना भने कायमै छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत कोसी प्रदेश जोगिने दावी गरेका छन् । राप्रपासंग सहकार्य गर्दा सो प्रदेशमा एमालेलाई सरकार जोगाउन थप एक सांसदको आवश्यकता छ ।

  • ११ चैत्र २०७९, शनिबार ०७:१९ प्रकाशित