गण्डकी सरकारबाट बाहिरिएको माओवादीको मुख्यमन्त्रीमा दावी

केन्द्रभाग मिडिया

पोखरा ।
संघमा गठबन्धन फेरिएसगै गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । शुक्रबार माओवादी केन्द्रका दुई मन्त्रीले राजिनामा दिएका छन् ।

भने सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहिबार सरकारबाट अलग हुन निर्देशन दिए सगै माओवादी संसदीय दलले शुक्रबार बैठक बसेर सरकारमा सहभागी मन्त्रीले राजिनामा दिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । शुक्रबारनै संसदीय दलका नेता एवं भौतिक पूर्वाधार मन्त्री हरिबहादुर चुमान र पर्यटन मन्त्री रेशमबहादुर जुगजालीले मुख्यमन्त्री अधिकारीलाई राजिनामा बुझाएका छन् ।

माओवादीले समर्थन फिर्ता लिएपछि गण्डकीमा खगराज अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेसगै नेपाली कांग्रेस र माओवादी केन्द्र नयाँ सरकार गठनको लागि छलफलमा जुटेका छन् । दुई पार्टीबीच प्रदेश सरकारको मुख्यमन्त्रीमा आलोपालो गर्ने तयारी छ । तर पहिलो कार्यकाल को मुख्यमन्त्री बन्ने भन्ने विषय पेचिलो बनेको छ ।

अधिकारी नेतृत्वको सरकार बन्ने बेला पनि मुख्यमन्त्रीको दावी गरेको माओवादीले कांग्रेससंगको गठबन्धनमा पनि मुख्यमन्त्रीको दावी छाडेको छैन । कांग्रेस प्रदेश सभाको ठुलो दलको हैसियतमा मुख्यमन्त्री आफ्नो पार्टीले पाउनेमा ढुक्क छ । माओवादी नेता चुमान भने अधिल्लो पटक कांग्रेसको मुख्यमन्त्री बनाउन सहयोग गरेकाले अहिले माओवादीले मुख्यमन्त्री पाउनुपर्ने दावी गरे ।

माओवादीले समर्थन फिर्ता लिएसँगै अधिकारी सरकार समस्यामा परेको छ । अधिकारीले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । पुस २५ मा माओवादी केन्द्रसहित राप्रपाको समर्थनमा एमाले संसदीय दलका नेता अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रदेश सभामा एमालेको उपसभामुखसहित २२, माओवादीका सभामुखसहित ८ जना सांसद छन् भने नेपाली कांग्रेसका २७ जना सांसद छन् । राप्रपाका २ स्वतन्त्र एक जना सांसद छन् । ६० सदस्यीय प्रदेश सभामा कांग्रेस र माओवादी गठबन्धन गरेमा सरकार बन्न बहुमत पुग्छ । कांग्रेस माओवादीसंग सभामुख सहित ३५ सांसद छन् ।

  • १० चैत्र २०७९, शुक्रबार १७:३२ प्रकाशित