पोखरा ।
पोखराको न्यूरोडमा अवस्थित लक्ष्मी आवासीय माध्यमिक विद्यालयको ३६ औं वार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न भएको छ । बिद्यालयले आईतबार एक कार्यक्रम गरि ३६ औं वार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका प्याब्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेलले निजी विद्यालयहरुले शिक्षा क्षेत्रको विकासको लागि अतुलनीय योगदान गरेको भन्दै विद्यालयले मात्रै नभई अभिभावकहरुले पनि विद्यार्थीहरुलाई व्यवहारीक तथा संस्कार युक्त बनाउनको लागि विशेष ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा पूर्व जिल्ला शिक्षा अधिकारी नगेन्द्र राज पौडेलले स्थापनाकाल देखि अहिलेसम्म विद्यालयको गतिबिधि आफूले नजिकबाट नियालेको बताउँदै विद्यालयले प्रदान गरेको व्यवहारिक शिक्षा बाट आफू प्रभावित भएको बताए । सो अवसरमा विद्यालयका प्राचार्य शालिकराम अधिकारीले विद्यालयको वर्तमान गतिविधका साथै आगामी कार्यक्रमहरुको बारेमा जानाकारी गराए ।
विद्यालयको संस्थापक निर्देशक लिलावती प्रधानको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व शिक्षिका रमा पौडेल, अभिभावकको तर्फबाट डा. निभा अमात्य, चाटर्ड एकाउन्टेन्ट तथा प्रिज्म एजुकेशन फाउण्डेशनका प्रबन्ध निर्देशक अमित थापाको लगायतले बोलेका थिए । उक्त अवसरमा विद्यालयका सह–प्राचार्य तथा कार्यक्रम संयोजक नवराज अधिकारी र संस्थापक सदस्य मित्रलाल पौडेल लगायतले विद्यालयका बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा विद्यालयले शैक्षिक सत्र २०७७ र २०७८ को शैक्षिक तथा अतिरिक्त क्रियाकलपमा प्रथम, द्वितीय र तृतीय हुने छात्रा छात्रहरुलाई पुरस्कार तथा मेडल वितरण गरिएको बिद्यालयले जनाएको छ । सो अवसरमा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।















