नेपालमै भ्याक्सिन बनाउँदै देउराली जनता फर्मास्युटिकल्स

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपालमै कोभिड –१९ विरुद्धको खोप उत्पादनको लागि अनुमति पाएको देउराली जनता फर्मास्युटिकल्सले काम अगाडि बढाएको छ ।

नेपालमै भ्याक्सिन ल्याब स्थापना गर्ने सरकारको योजनाअनुसार देउराली जनता फर्मास्युटिकल्सलाई भ्याक्सिन उत्पादनका लागि अनुमति दिएसँगै कम्पनीले प्रक्रिया अघि बढाएको अधिकारीहरुले बताएका छन् ।

चिनियाँ खोप उत्पादनका लागि सरकारले उक्त कम्पनीलाई सुविधा दिन सक्ने भन्दै सरकारलाई सिफारिस गरेपश्चात कम्पनीले खोप बनाउने प्रक्रिया अगाडि बढाइरहेको बताइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार निजी क्षेत्रको देउराली जनता फर्मास्युटिकल्स उद्योगले चीनमा बनेको एमआरएनए खोप उत्पादनको प्रयास गरिरहेको छ। अध्ययनका क्रममा रहेका खोपहरू परीक्षणका लागि फाइलहरू रोकिएको थियो।

मन्त्रालयको अनुसार दुईवटा खोपको नेपालमा उत्पादन र अध्ययनका लागि मन्त्रिपरिषद्ले अनुमति दिइसकेको छ।

तर भ्याक्सिन ल्याब स्थापनाका लागि प्रारम्भिक अनुमति पाएको औषधि उत्पादक देउराली जनता फर्मास्युटिकल्स उद्योगका कार्यकारी निर्देशक हरिभक्त शर्माले यसमा भएका प्रगतिबारे दशैँपछि मात्रै जानकारी दिन सकिने बताएका छन् ।

औषधि व्यवस्था विभागले भ्याक्सिन ल्याब स्थापनाका लागि उक्त कम्पनीले अझै धेरै काम गर्न बाँकी रहेको जनाएको छ।
कोरोनाभाइरस विरुद्धको खोप अहिले नेपालले विभिन्न देशबाट आयात गर्दै आएको छ।

  • २६ आश्विन २०७८, मंगलवार १०:१२ प्रकाशित