कांग्रेसबाट यी हुन् राष्ट्रपतिका सम्भावित उम्मेदवार

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रपतिको निर्वाचनको मिति नजिकिएसँगै एमालेले आफ्नो पक्षमा राष्ट्रपति पार्नका लागि दौडधुप गरिरहेको छ । माओवादीले राष्ट्रपतिमा नेपाली कांग्रेसलाई साथ दिने हल्ला पछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हरेक दिन जसो भेटिरहेका छन् ।

यता नेपाली कांग्रेसमा राष्ट्रपतिका लागि ५ जनाले आकांक्षा देखाएका छन् । सत्ता गठबन्धनमा पुस १० गतेको सहमतिअनुसार माओवादी केन्द्रले एमालेलाई समर्थन नगर्ने संकेत पाएपछि कांग्रेसमा आकांक्षीको संख्या बढेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिको अडान लिएपछि सत्ता गठबन्धनमा अविश्वास बढ्दै गएको छ । यसबाट उत्साहित कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, शुक्रराज शर्मा र मानबहादुर विश्वकर्माले राष्ट्रपतिमा दाबी गरेका छन् ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेसले राष्ट्रपतिमा माओवादीको साथ पाउने अपेक्षा गरेको छ । राष्ट्रपतिमा माओवादीले गुण तिर्ने अवस्था देखिएमा कांग्रेसबाट पौडेल या सिटौलामध्ये एकजनालाई अघि सार्ने सम्भावना छ ।

  • ५ फाल्गुन २०७९, शुक्रबार १६:३० प्रकाशित