संखुवासभा ।
राष्ट्रपति विद्यादेवी भण्डारी भोलि (बुधबार) गृहजिल्ला भोजपुर आउने भएकी छन्। जिल्लाको उत्तरी षडानन्द नगरपालिकास्थित बालागुरु षडानन्द अधिकारीको जन्मथलो दिङ्ला र सामाजिक अभियन्ता योगमायाको कर्म तथा समाधिस्थल मझुवाबेँसी र गौंडेनीको भ्रमणका लागि राष्ट्रपति भण्डारी आउन लागेकी हुन्।
राष्ट्रपति भण्डारी षडानन्द नगरपालिका–१ स्थित मझुवामा रहेको योगमायाको प्रतिमामा माल्यार्पण गर्ने कार्यक्रम रहेको षडानन्द नगरपालिका नगरप्रमुख मेयर सुरेन्द्रकुमार उदासले जानकारी दिए। राष्ट्रपति भण्डारीले नवनिर्मित बालागुरुको सालिक अनावरणसँगै कैलाश डाँडामा रहेको गुरुकुल र जनस्तरबाट स्थापना गरिएको नेपालको पहिलो पाठशाला षडानन्द माध्यमिक विद्यालय र त्यसको नजिकै रहेको अरुण माविको समेत अवलोकन नगरप्रमुख उदासले बताए।
त्यसैगरी राष्ट्रपति भण्डारीले साल्पासिलिछो गाउँपालिका– १ गौंडेनीमा रहेको पशुपतिनाथको मन्दिरमा पूजाआजाको पनि कार्यक्रम छ। राष्ट्रपतिको भ्रमणको अवसरमा साल्पासिलिछो गाउँपालिकाले सार्वजनिक बिदासमेत दिएको छ।













