काठमाडौँ ।
गृह आफुहरुले पाउनुपर्ने माग गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । गृह नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको रास्वपाले सरकारमा सहभागिताका विषयमा निर्णय गर्नका बैठक बोलाएको बताएको छ। बैठक केन्द्रीय कार्यालय बसुन्धारामा साढे ४ बजेका लागि बोलाइएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले सरकारमा सहभागिताका विषयमा निर्णय गर्नका लागि केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाएको बताए । सरकारमा सहभागी भएर पनि जनताका पक्षमा काम गर्न नसकेको विषयमा छलफल हुने उनले बताए । यसरी नसकिने रहेछ भनेर पार्टीमा छलफल हुन लागेको उनले जानकारी दिए ।
पार्टी सभापति रवि लामिछानेले विगतमा गरेको त्रुटिलाई लिएर सर्वोच्चबाट फैसला आएको र त्यसलाई सुधार गर्दा पनि प्रधानमन्त्री पुष्पकमल दाहालबाट सकरात्मक सन्देश नपाएको पनि ढकालले बताए । त्यसैले अब नयाँ शिराबाट अगाडि जान लागेको उनको भनाइ छ ।
यसैबीच सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत आफ्नो मौनता आजसम्मका लागि मात्र रहेको बताएका छन् ।’अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला,’ उनले लेखेका छन्, ‘मेरो मौनता आज सम्मका लागि मात्रै हो । म अभिमन्यु होइन।’













