पोखरा ।
नेकपा एमालेका युवा नेता एवं गण्डकी प्रदेशसभा सदस्य सुधिर कुमार पौडेलले विकास निर्माणमा जनताले अपनत्व लिनुपर्ने बताएका छन् । आँधीखोला गाउँपालिका वडा नं २ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । सांसद पौडेलले सरकार एक्लैले सबै कुरा गर्न नसक्ने भन्दै जनसहभागिता र जनताले महसुस गर्ने गरी काम गर्नसके विकास निर्माणले गति लिने र त्यसका उपयोगपनि सहिढंगले हुने उनको भनाई थियो ।
उनले कुनै पनि विकास निर्माणको सवालमा गाउँपालिका एक्लैले मात्र सम्भव नभएकोले जनताको पूर्ण सहभागिता जरुरी भएको बताउदै भवन निर्माणमा सहयोग, सहकार्य तथा योगदान गर्नुहुने सम्पूर्णमा आभार व्यक्त गरे । ‘जनप्रतिनिधि केही समयका लागि हुन् । व्यवस्थित संरचनाबाट गुणस्तरीय र प्रविधीमैत्री सेवा दिएर जनतालाई सहज बनाउनु आजको आवश्यकता हो’ उनले भने ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले हालसम्म शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी, कृषि, पर्यटन, श्रम तथा रोजगार, लगायतका अन्य क्षेत्रहरूमा गरिएका मुख्य मुख्य उपलब्धीहरू बारे जानकारी दिए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष उपाध्यक्ष सिता थापा, सब–ईन्जिनियर सुन्दर पौडेल, वडा नं २ का वडा अध्यक्ष कमल प्रसाद पौडेल, आँधीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारी, वडा नं १ का वडा अध्यक्ष पवन काजी अधिकारी, वडा नं ४ का वडा अध्यक्ष सिंह बहादुर क्षेत्री, वडा नं ५ का वडा अध्यक्ष कृष्ण प्रसाद पनेरू, वडा नं ६ का वडा अध्यक्ष नबिन ढकाल, गाउँकार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, स्थानीय बुद्धिजिवी तथा समाजसेवीहरू र गाउँपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको गाउँपालिकाका सूचना प्रविधि अधिकृत रोशन लामिछानेले जानकारी दिए ।
१ करोड ३९ लाख १२ हजारमा वडा कार्यालय भवन निर्माण
वडा कार्यालय भवन निर्माणका लागि रु १ करोड ८८ लाखको लागत अनुमान गरी टेन्डर गरिएकोमा ठेक्का घटेर रु १ करोड ३९ लाख १२ हजार १ सय ३१ रुपैयाँमा विवेक एण्ड कुवेर/विद्यामोहन जेभी स्याङ्जाले निर्माण कार्यको जिम्मा पाएको थियो ।
२०७८ साल साउन ४ गते सम्झौता भई २०७९ कार्तिक १३ गते सम्पन्न भएको वडा कार्यालय भवनमा ५ वटा कोठा सहित एउटा हल रहेको पालिकाले जनाएको छ ।