प्रधानमन्त्री देउवा पोखरा आउँदै, यस्तो छ भिजिट तालिका

केन्द्रभाग मिडिया

कास्की ।

प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा आउँदै छन् । । गण्डकी प्रदेश साक्षर प्रदेश घोषणा हुने भएपछि सोही समारोहमा सहभागी हुन देउवा पोखरा आउन लागेका हुन् ।

गण्डकी प्रदेश सरकारले गण्डकीलाई साक्षर प्रदेश घोषणा गर्ने भएको छ । भोलि पोखरामा विशेष समारोहका साथ प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिने भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा घोषणा समारोह राखिएको शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्रीसमेत रहेका घोषणा मूल समारोह समितिका संयोजक मेखलाल श्रेष्ठले बताए । पन्ध्र वर्षदेखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिक साक्षर भएको क्षेत्र, जिल्ला वा राष्ट्रलाई साक्षर घोषणा गर्न सकिने नीतिअनुसार घोषणाको तयारी गरिएको हो । गण्डकी प्रदेशको औसत साक्षर प्रतिशत ९६ दशमलव ५७ प्रतिशत रहेको उनले बताए ।

गएको भदौ ३० मा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सबै जिल्ला साक्षर घोषणा भइसकेकाले साक्षर गण्डकी अवधारणापत्र स्वीकृत गरी साक्षर प्रदेश घोषणा गर्ने निर्णय गरेको थियो ।

शिक्षा तथा मानव विकास केन्द्रको तथ्याङ्कअनुसार गण्डकी प्रदेशको नवलपुरमा सबैभन्दा बढी ९८ प्रतिशत नागरिक साक्षर छन् । सबैभन्दा कम लमजुङमा ९५।५ प्रतिशतमात्रै नागरिक साक्षर भएको तथ्याङ्क छ ।

मुस्ताङ ९६ दशमलव ३५, स्याङ्जा ९६ दशमलव १६, कास्की ९६, तनहुँ ९६ दशमलव चार, बाग्लुङ ९६ दशमलव ५७, मनाङ ९६ दशमलव नौ, गोरखा ९७ दशमलव दुई, म्याग्दी ९६ दशमलव २७ र पर्वत ९६ दशमलव ९३ प्रतिशत नागरिक साक्षर भइसकेको मन्त्रालयले जनाएको छ ।

जिल्लागतरुपमा सबै जिल्ला यसअघि नै साक्षर घोषणा भइसकेका छन् । मुस्ताङ सबैभन्दा पहिलो साक्षर जिल्ला घोषणा भएको हो । २०७१ साल असार ३१ मा मुस्ताङ घोषणा भएको हो भने सबैभन्दा अन्तिममा पर्वत २०७४ साल माघ १८ मा घोषणा भएको थियो ।

सरकारले सबै नागरिकलाई साक्षर बनाउन र विद्यालय जाने उमेरका पाँच वर्षमाथिका बालबालिकाका लागि विद्यालय भर्ना अभियान गएको वर्ष सञ्चालन गरेको थियो । पन्ध्र वर्ष वा त्यसभन्दा माथिको उमेर समूहका सबै नागरिकलाई न्यूनतम साक्षर बन्ने अवसर प्रदान गरी साक्षर नेपाल घोषणाको नीति सरकारको रहेको छ ।

देउवाको भिजिट तालिका

प्रधानमन्त्री देउवाले बिहान साढे १० बजे पोखरा नयाँबजारस्थित प्रदेश संग्रहालयमा निर्मित साक्षरता स्तम्भ अनावरण गर्ने कार्यक्रम रहेको छ । त्यसपश्चात ११ बजे पोखरा सभागृहमा हुने गण्डकी प्रदेश साक्षर घोषणा मूल समारोहमा सरिक हुने कार्यक्रम तय भएको छ ।

सो कार्यक्रमपछि राष्ट्र बैंक गेस्ट हाउसमा खाना, दिउँसो ३ बजे पोखरा १७, ग्यालेक्सी बैंक्युटमा हुने शुभकामना आदानप्रदान कार्यक्रममा सरिक भइ साँझ राष्ट्र बैंक गेस्ट हाउसमा कार्यकर्ता भेटघाट हुनेछ ।

भोलि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

  • २४ आश्विन २०७८, आईतवार ०८:४५ प्रकाशित