काठमाडौं ।
सत्तारुढ प्रमुख तीन दलबीच मन्त्रालय भागवण्डा लगभग टुंगिएको छ ।सत्तारुढ नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले कति वटा मन्त्रालय लिने भन्ने लगभग टुंगिएको स्रोतले जनाएको छ । अरु दलको हकमा छलफल जारी छ ।
एक नेताका अनुसार १० मन्त्रालयको दाबी गरेको एमालेले ९ वटा मन्त्रालय पाउने भएको छ । साना दलहरुलाई पनि समेट्नुपर्ने भएकाले एमाले नेतृत्व ९ मा सहमत भएको छ । एमालेले अर्थ मन्त्रालय लिइसकेको छ भने बाँकी मन्त्रालय टुंगिएको छैन । मन्त्रालय नटुंगिएका कारण प्राधनमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै ११ पुसमा सपथ दिएका एमालेका तीन मन्त्रीले जिम्मेवारी सम्हाल्न पाएका छैनन् ।
माओवादी केन्द्रले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय समेत गरेर ५ वटा मन्त्रालय पाउने भएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीन मन्त्रालय पाउनेछ । रास्वपालाई एक राज्यमन्त्री दिने लगभग सहमति जुटेको प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।
मन्त्रालयको लगभग टुंगो लागेपनि मन्त्रिपरिषद् विस्तार भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि मात्र हुनेछ ।प्रधानमन्त्री प्रचण्डले २६ पुसमा विश्वासको मत लिने तय भएको छ ।













