उद्योगी व्यवसायीलाई रातो कार्पेटले स्वागत गर्छ : गृहमन्त्री लामिछाने

केन्द्रभाग मिडिया

काठमाडौं ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उद्योग व्यवसायको सुरक्षाका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

बुधबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँगको छलफलमा गृहमन्त्री लामिछानेले विगतका सरकारले उद्योगी व्यवसायीहरुलाई जस्तो आँखाले हेरे पनि वर्तमान सरकारले रातो कार्पेट ओछ्याएर स्वागत गर्ने बताएका हुन् ।

उनले उद्योग व्यवसायको सुरक्षाको लागि गृह मन्त्रालयले गर्नुपर्ने कुनै पनि काममा नचुक्ने प्रतिवद्धता समेत जनाए । गृहमन्त्री लामिछानेले सरकारले उद्योग व्यवसाय क्षेत्रको काम गर्न छुट्टै युनिट खडा गर्ने र उद्योगी व्यवसायीहरु साना कामका लागि मन्त्रालय वा कार्यालयमा धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने पनि बताए । उनले उद्योगी व्यवसायीहरुले आफ्नो व्यापार वृद्धि गरी मुलुकको राजश्व वृद्धिमा ध्यान दिन आग्रह गरे ।

उनले उद्योगी व्यवसायीहरुले सरकारी कार्यालय, कार्यालयका हाकिम र राजनीतिज्ञहरुलाई भेटेर समय खेर फाल्नु नपर्ने बताए । उनले सरकारको नीतिगत विषयमा समस्या आए व्यवसायीहरुले सल्लाह सुझाव दिन आग्रह गरे । गृहमन्त्री लामिछानेले उद्योगी व्यवसायीहरुले पैसा कमाउनुलाई अपराध गर्नु जस्तो व्याख्या गर्ने अवस्थाको अन्त्य गर्ने पनि आश्वासन दिए ।

उनले उद्योगी व्यवसायीहरुले सही ढङ्गले स्वच्छ प्रतिष्र्पधा गरी व्यापार व्यवसायबाट पैसा कमाउँदा नै मुलुकको उन्नती हुने बताए ।

  • २० पुष २०७९, बुधबार १५:५७ प्रकाशित