ए. समाजवादीमा सरकारको बिषयमा निर्णय गर्ने जिम्मा सचिवालयलाई

केन्द्रभाग मिडिया

काठमाडौँ ।
नेकपा एकीकृत समाजवादीको पोलिट्व्युरो बैठकले सरकारको बिषयमा आवश्यक निर्णय गर्ने जिम्मा केन्द्रीय सचिवालयलाई दिएको छ । मंगलबार काठमाडौंमा सम्पन्न बैठकले सरकारलाई समर्थन गर्ने वा विरोध गर्ने भन्ने सम्पूर्ण निर्णय गर्ने अधिकार केन्द्रीय सचिवालयलाई दिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

सरकारमा सहभागिताबारे थप अध्ययन गर्नुपर्ने र सरकारको नीति र कार्यक्रम पनि हेर्नुपर्ने भएकाले आवश्यक निर्णय गर्ने अधिकार सचिवालयलाई दिइएको उनले बताए । अहिलेसम्म सरकारलाई समर्थन गर्नका लागि औपचारिक प्रस्ताव नै नआएको उनको भनाइ छ । त्यस्तै बैठकले बामपन्थीहरुबीच एकता र सहकार्य गर्नका लागि सचिवालयलाई आवश्यक गृहकार्य गर्न अनुमति दिएको उनले बताए ।

त्यस्तै बैठकले पार्टी सुदृढीकरणका लागि अभियान चलाउने र त्यसका लागि कार्ययोजना बनाउन सचिवालयलाई अनुमति दिने निर्णय गरेको समाजवादीले जनाएको छ । बैठकले आम निर्वाचनमा भाग लिएका मतदाता, सुरक्षाकर्मी लगाएत सवैलाई धन्यवाद ज्ञापन गरेको छ । मुलुकको अर्थतन्त्र संकट समाधानका लागि ठोस कदम चाल्न पनि सरकारको ध्यानाकर्षण गराएको छ भने तत्काल उखुको समर्थन मूल्य तोक्न, मिटरव्याजीहरुलाई कारवाही गर्न पनि माग गरिएको प्रवक्ता खतिवडाले बताए ।

  • १९ पुष २०७९, मंगलवार १७:२५ प्रकाशित