काठमाडौं ।
नेपाली कांग्रेस संसदीय दलका उम्मेदवार गगन थापाले पार्टीका सांसदहरुलाई विवेकसम्मत निर्णय गर्न अपिल गरेका छन् । बुधबार विहान सामाजिक सञ्जालमार्फत कांग्रेस महामन्त्री थापाले देश, जनता, भावी सन्तति र पार्टीको भविष्य सम्झेर आफूलाई मतदान आग्रह गरेका हुन् ।
उनले भनेका छन् ,‘आज हुन गइरहेको नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनले देश, जनता र नेपाली कांग्रेसको भविष्य दिशानिर्देश गर्ने छ , भर्खरै सम्पन्न आमनिर्वाचनमार्फत नेपाली जनताले दिएको अभिमतलाई इमान्दारितापूर्वक आत्मसात गरी देश, लोकतन्त्र, संविधान र भावी सन्तानको लागि नेपाली कांग्रेसका आदरणीय अग्रज नेताहरू तथा माननीय सांसदज्यूहरूलाई विवेकसम्मत निर्णय गर्न म हार्दिक अपिल गर्दछु ।
आज विहान ८ बजेबाट कांग्रेस संसदीय दलको निर्वाचन हुँदैछ। दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुँदैछ ।














