काठमाडौं ।
निर्वाचनको अन्तिम परिणाम आयोगले राष्ट्रपति र प्रधानमन्त्रीलाई बुझाएसँगै नयाँ सरकार गठनको लागि बाटो खुला भएको छ । यो सगैँ राज्यका महत्वपूर्ण पदहरुको भागबन्डाबारे सर्वत्र चासो बढेको छ ।
अहिलेकै सत्ता गठबन्धनमा आबद्ध राजनीतिक दलको नेतृत्वमा नयाँ सरकार गठनको प्रयास भइरहेका बेला राष्ट्रपति र प्रधानमन्त्रीपछि सभामुख पदको समेत चर्चा सुरु भएको छ ।
दलहरुबीच शक्ति बाँडफाँड नभएपनि ती महत्त्वपूर्ण पदहरुमा आकांक्षा राख्नेहरु पनि बढ्दै जान थालेका छन् । निर्वाचनअघि कांग्रेस, माओवादी र समाजवादीले क्रशमस् राष्ट्रपति, प्रधानमन्त्री र सभामुख लिने मौखिक सहमति भएको चर्चा छ र तर सहमतिअनुसार पदहरु बाडफाँट हुने/नहुने निश्चित छैन ।
यही अनिश्चितताकाबीच प्रतिनिधि सभाको नेतृत्व गर्ने सभामुखमा कसले वाजी मार्ला भन्ने चासो बढेको हो । यही क्रममा आकांक्षी नेताहरुको दौडधुप समेत हुन थालेपछि विभिन्न अड्कलवाजी हुन थालेका छन् ।
सभामुखका लागि सत्ता गठबन्धनका चार नेताको नाम चर्चामा आएको छ । कांग्रेसबाट अर्जुननरसिंह केसी, माओवादीबाट रेखा शर्मा तथा नेकपा एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र प्रकाश ज्वालाको नाम सभामुखका लागि चर्चामा ल्याइएका छन् ।













