आयोगद्धारा राष्ट्रपतिसमक्ष निर्वाचन प्रतिवेदन पेश

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्वाचन आयोगले यही निर्वाचनको प्रतिवेदन पेश गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आयोगले यही मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको हो ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन पेस गरेका हुन् ।

प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ ।

सो अवसरमा राष्ट्रपति भण्डारीले लोकतन्त्रको सुदृढीकरणका निम्ति निर्वाचन महत्वपूर्ण रहेको बताइन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा खुसी व्यक्त गर्दै उनले यसका निम्ति निर्वाचन आयोग, सुरक्षा निकाय, सरोकारवाला निकाय र आममतदाता सबैलाई धन्यवाद दिइन् ।

यस निर्वाचनबाट प्रतिनिधिसभामा दुई सय ७५ र प्रदेशसभामा पाँच सय ५० गरी आठ सय २५ जना निर्वाचित भएको थपलियाले जानकारी गराए । प्रतिनिधिसभामा ३३ दशमलव १० प्रतिशत र प्रदेशसभामा ३६ दशमलव ३६ प्रतिशत महिला सहभागि थिए ।

  • २९ मंसिर २०७९, बिहीबार १४:०५ प्रकाशित