चुनाव सकिनासाथ गठबन्धन फेरेर हिँड्न मिल्दैन : रामकुमारी झाक्री

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले पार्टीका समानुपातिक उम्मेदवारहरुका कारण राष्ट्रिय दलको मान्यता नपाउने स्थिति आएको बताएकी छन् ।

‘हामी विभाजित भएको नयाँ पार्टी थियौं । हामीले बहुसंख्यक भोट गठबन्धनको लिनुपर्ने थियो । भोट ट्रान्सफरमा पनि केही समस्या भयो होला । एउटै दलमा जसरी कार्यकर्ता परिचालित नहुने समस्या पनि भयो । उम्मेदवारको पनि सीमा हुन्छ । हामीले प्रत्यक्षतर्फ भोट माग्यौं तर समानुपातिक उम्मेदवारहरुले मतदातामा खासै प्रभाव पार्नुभएन । समानुपातिकमा पहिले जितेकालाई उम्मेदवार बनाइएन । अग्रगमन, संविधान रक्षा, समृद्धि र सुशासनको एजेन्डा बुझाउन पनि सकेनौं । रेडियो कार्यक्रम ‘नेपाली बहस’का लागि कुरा गर्दै झाँक्रीले भनिन् ।

गुल्मी २ मा आफ्नो हारलाई राजनीतिक घटनाका रुपमा लिएको पनि उनले बताइन् । झाँक्रीले भनिन्, ‘राजनीतिमा पात्रहरु कहिले अगाडि र कहिले पछाडि हुन्छन् । यसले राजनीतिक मुद्दालाई फरक पर्दैन । मैले २६ हजार ४०० मत पाएँ । समानुपातिकमा त्यस अनुसार मत आएन । मैले चुनाव हारें, फलानाले भोट हालेन र अन्तर्घात गर्‍यो भन्न मिल्दैन । अन्तर्घात हुने परिस्थिति बनाउन नसक्नु त मेरै कमजोरी हो नि ।’

नेकपा (एकीकृत समाजवादी) ले अहिले गठबन्धनबाट बाहिरिन नमिल्ने पनि उनले स्पष्ट पारिन् । झाँक्रीले थपिन्, ‘पार्टीभित्र बहस त स्वभाविक हो । तर यति छिटै एजेन्डा फेरेर हिँड्न मिल्छ जस्तो मलाई लाग्दैन । निर्वाचन अगाडि एउटा, निर्वाचनपछाडि अर्कातिर हिँड्न मिल्ला र ?

एमाले र कांग्रेस मिलेर सरकार बनाउने स्थिति आउँछ भन्ने प्रश्नमा झाँक्रीले भनिन्, ‘संविधानले सरकार बनाउने विभिन्न विकल्प दिएको छ । संविधानको ७६ ९२० ले संयुक्त सरकारको विकल्प पनि दिएको छ । तर तयो राजनीतिक हिसाबले ठीक हुन्छ कि हुन्न ? साना दललाई प्रतिपक्षमा राखेर संसद् कति प्रभावकारी हुन्छ ? मलाई लाग्छ, प्रारम्भिक आँकडा हेर्दा गठबन्धनकै बहुमत पुग्छ ।’ ठूलो पार्टीको हिसाबले प्रधानमन्त्रीमा कांग्रेसको दाबी स्वाभाविक हुने पनि उनले बताइन् ।

  • १७ मंसिर २०७९, शनिबार १२:०८ प्रकाशित