नेवा फुड फेस्टिवल हुदैँ: खाना र संस्कृती वारे जानकारी दिदै नेवाःखल कास्की अध्यक्ष पालिखे (भिडियो)

केन्द्रभाग मिडिया

पोखरा ।
पर्यटकीय नगरी पोखरामा नेवा फुड फेस्टिवल हुने भएको छ । पोखराको वाटर फ्रन्ट रिसोर्टमा असोज २३ गते फेस्टिवल हुने भएको हो । नेवाः खल कास्की, नेवाः मिसा पूच कास्की, नेवाः ल्याम्ह पूच कास्की र वाटर फ्रन्ट रिसोर्टको संयुक्त आयोजनामा महोत्सव गर्न लागिएको हो ।

दसैं संस्कृतिको संरक्षण, पर्यटन प्रवद्र्धन तथा आत्मीयता अभिवृद्धिको लक्ष्यसहित महोत्सव आयोजना गर्न लागिएको नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले जानकारी दिए ।‘महोत्सव अन्तर्गत चंगा चैट प्रतियोगिता, नेवारी खाना र नेवारी संस्कृतिको प्रदर्शन गरिनेछ,’ उनले भने ।

वाटर फ्रन्ट रिसोर्टको परिसरमा २३ असोजमा दिउसो २ बजेबाट शुरु हुने महोत्सव साँझ ७ बजेसम्म चल्नेछ । महोत्सवमा प्रवेशका लागि एक हजार रुपैयाँको कुपन लिनुपर्नेछ । महोत्सवमा सहभागी भएर दसैंको आगमनलाई उल्लासमय ढंगले स्वागत गर्ने हाम्रो प्रयत्नमा सहभागी हुन हार्दिक अपील गर्दछौं,’ उनले भने ।

आगामी वर्षहरुमा नेवारी कला र संस्कृतिलाई उजागर गर्न यस्तो महोत्सवलाई विस्तृतरुपमा अगाडि बढाउने उनले जानकारी दिएका छन् । पोखराको पुरानो बजारमा यस्तो मेला महोत्सव गर्ने र संस्कृतिको जगेर्ना गर्दै पर्यटकलाई आकर्षित गर्ने उनले योजना सुनाए ।

फेस्टिवलमा आन्तरिक पर्यटकको आकर्षण हुने वाटरफ्रन्ट रिसोर्टका म्यानेजिङ डाइरेक्टर दिवाकर राजकर्णीकारले बताए ।‘पर्वहरुले मानिसको जीवनमा उमंग ल्याउँछ । उत्साह थप्छ । आपसी भाइचारा वृद्धि गर्न सहयोग पुर्याउँछ,’ उनले भने ।

राजकर्णीकारले संस्कार र संस्कृतिको संरक्षणमा फेस्टिवलले सहयोग गर्ने धारणा राखे। उनले समाजमा सद्भाव स्थापना गर्ने, सामाजिक सम्बन्धलाई सुदृढ पार्ने तथा समाजमा उत्साह र उमंगको रंग भर्ने उद्देश्य अनुसार महोत्सव आयोजना गरिएको बताए ।

  • २० आश्विन २०७८, बुधबार १८:११ प्रकाशित