पोखरा ।
नेपाली कांग्रेस कास्कीमा सभापति पदको उम्मेद्वारी घोषणा गरेका कांग्रेस नेता किशोरदत्त बरालले यसपाली कास्की कांग्रेसमा कुनै गुटको नेता नभई कांग्रेस नेताले सभापति जित्ने बताएका छन् ।
बुधबार केन्द्रखबरसंगको कुराकानीमा उनले अब कुन नेतालाई कुनको समर्थन छ भनेर नभई एजेण्डा र क्षेमता हेरेर कार्यकर्ताले नेता चुन्ने दाबी गरे ।
आफू कुनै गुटको पछाडि नलाग्ने र गुट रहित कांग्रेस निर्माण गर्ने उनको भनाई छ । ‘यहाँ गुटको आशिर्वाद नपाई जितिन्न भन्ने छ । मलाई यो नेता र त्यो नेताको समर्थन छ भन्दै नेता निकट देखाउने होडवाजी पनि चलिरहेको छ ।
मैले गुटको पछि नलागेर पनि योग्यता र क्षमता प्रदर्शन गरेर जितिन्छ भन्ने मान्यता स्थापित गरेर देखाउने छु । मलाई विश्वास छ, यसपाली कास्कीमा गुटगत अनुहार हेरेर होइन, निष्ठा र योग्यता अनि क्षमता हेरेर नेतृत्व चयन हुनेछ,’ उलने भने ।
नेता बरालले कांग्रेसका नेता कार्यकर्ता सबै अब उद्यमसंग जोडिनुपर्नेमा जोड दिएका छन् । नेतालाई हेरेर कुराकाट्ने वा यस्तो उस्तो भन्ने अवस्थाको अन्त्य गर्नुपर्ने भन्दै उनले नेता आदर्शवान हुनुपर्ने धारणा राखे । इमान्दार कांग्रेस नेता कार्यकर्ताको साथ शुभेच्छाले आफूले कास्की कांग्रेस सभापति जित्ने उनले दाबी गरेका छन् ।