काठमाडौं ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको चुनावलाई सरकारले २० अर्ब ४ करोड ८३ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । अर्थ मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले सो रकमको स्रोत सुनिश्चित भएको जनाएका छन् ।
उनका अनुसार चुनावका लागि छुट्याइएको बजेट स्रोत सुनिश्चित भएपछि बिनियोजन भए सरह नै हुनेछ । निर्वाचन आयोगलाई १० अर्ब रुपैयाँ बिनियोजन गरिएको छ ।
यस्तै निर्वाचनको सुरक्षाका लागि १० अर्ब ४ करोड ८३ लाख रुपैयाँ बजेट छुट्याइएको छ । निर्वाचन सुरक्षातर्फ गृहमन्त्रालयरजिल्ला प्रशासन कार्यालयहरु, इलाका प्रहरी कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलमार्फत सो खर्च हुनेछ ।
निर्वाचन सुरक्षाका लागि गृहमन्त्रालय मातहतका निकायका लागि ९ अर्ब १ करोड ३७ लाख रुपैयाँ, नेपाली सेनाका लागि ९७ करोड ७३ लाख रुपैयाँ र राष्ट्रिय अनुसन्धान विभागलाई ५ करोड ७३ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ ।













