पाल्पा ।
मङिसर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिदै गर्दा नेकपा एमालेका उम्मेदवारहरु मत माग्न जनताको घर दैलो टोलबस्तीमा भेटघाट तथा अन्तरक्रियामा व्यस्त छन् ।
क्षेत्र नं. १ अन्र्तगतका उम्मेदवारहरू आज ताहँको सेर्काबासमा टोलभेला तथा घरदैलोमा व्यस्त रहे । मतदाताहरुसँगको भेटघाटका क्रममा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणप्रसाद आचार्यले नेकपा एमाले जनताको पक्षमा बोल्ने पार्टीको रुपमा रहेका बताए ।
आचार्यले एमाले सरकारमा रहेको समयमा देशव्यापी राम्रो काम भएको र पाल्पामा पनि धेरै महत्वपूर्ण योजनाहरु सञ्चालन गरिएको बताए । उनले ताहुँमा १५ शैयाको अस्पताल निर्माण कार्य जारी रहेको, प्रहरी चौकी ताहुँमा इन्स्पेक्टरको दरबन्दी रहने गरि स्तरोन्नति हुँदै गरेको बताए ।
देशका १ सय मुख्य पर्यटकीय गन्तव्यको रुपमा ऐतिहासिक रम्भादेवी मन्दिर रहेकोले यस क्षेत्रको प्रवर्धनका लागि स्थानीय सरकारसँगको सहकार्यमा थप कार्यक्रमहरु अगाडि बढाइने आचार्यले बताए । रम्भादेवीसँगै रिमिघालेक र बाकुमगढीलाई पनि पर्यटन प्रवर्धन गरिनेछ । ताहुँमा वस्ती विकास योजना अगाढि बढाउने छौं । आचार्यले भने ।
क्षेत्र नं. १(२)का प्रदेशसभा सदस्यका उम्मेदवार खेम बहादुर सारुले आर्यभञ्ज्याङ रामपुर बाटो स्तरोन्नतीका लागि ठोस् पहल गर्नु आवश्यक रहेको र नेकपा एमालेको सरकार बनेलगत्तै यो कार्यलाई प्राथमिकता दिई अगाडि बढाइने बताए । सो अवसरमा एमाले पोलिट्व्युरो सदस्य दलबहादुर रानाले जनताको अमूल्य लिएर नेकपा एमालेले जनताकै पक्षमा काम गर्ने बताए ।
क्षेत्र नं. १ (१)का प्रदेशसभा सदस्यका उम्मेदवार राजुप्रसाद श्रेष्ठ रामपुर क्षेत्रमा घरदैलो तथा भेटघाटमा व्यस्त छन् । मतदाताहरुसँगको भेटघाटमा उहाँले जनताको अमुल्य मतको कदर गर्दै आफू सदैव जनताको सेवक बन्ने प्रतिबद्ध ताजनाए ।
सत्यवतीलाई धार्मिक पर्यटनको गन्तव्य बनाउने गैरेको उद्द्योष
पाल्पा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ठाकुर गैरले सत्यवती क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको नयाँ गन्तव्य बनाउने बताउनुभएको छ । तिनाउँ गाउँपालिका–४ सत्यवतीमा मतदाता भेटघाट तथा घरदैलोमा व्यस्त रहेका गैरेले यस्तो बताउनुभएको हो । । उहाँले सत्यवती क्षेत्र आफैमा पनि पर्यटकीय हिसावले महत्वपूर्ण क्षेत्रको रुपमा रहेकोले यस क्षेत्रको प्रवर्धनका लागि आफूले पहल गर्ने बताउनुभयो । नेता गैरेसँगको भेटघाटका क्रममा मतदाताहरुले स्थानीय जाल्माघाट र गोलमन्दी घाटमा पक्की पुल बनाउनु पर्ने, यहाँको कृषि क्षेत्रको विकासका लागि खास योजना बनाउनुपर्ने लगायतका मागहरु राखेका थिए । मतदाताहरुसँगको छलफलका क्रममा नेता गैरेले जनताको भावना र आवश्यकता अनुसार आफू सधै जनताकै सेवकको रुपमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
पाल्पा क्षेत्र नं. २ (२)का प्रदेशसभा सदस्यका उम्मेदवार ओम बहादुर घर्ती पनि सोही क्षेत्रका मतदाताहरुसँग भेटघाटमा रहनुभयो । उहाँले आफू यसअघि तिनाउँ गाउँपालिकाको अध्यक्षको रुपमा रही काम गरेको समयमा पनि यस क्षेत्रमा धेरै कामहरु भएको र आगामी दिनमा पनि थप कामहरु गर्ने प्रतिबद्धता जनाउनुभयो ।
क्षेत्र नं. २ (१) का प्रदेश सभा सदस्यका उम्मेदवार परशुराम भट्टराई तानसेन नगरपालिकाको वडा नं. २ र ६ का मतदाताहरुको घर घरमा घरदैलो कार्यक्रममा व्यस्त रहनुभयो ।
घरदैलो कार्यक्रममा उहाँले मतदाताहरुलाई विस्वस्त पार्दै ऐतिहासिक तानसेन शहरलाई पर्यटनको आर्कषणको रुपमा विकास गर्न, तानसेनको खानेपानीको उचित व्यवस्थापन, सडकको स्तरोन्नति साथै नगरका ग्रामीण बस्तीहरुमा कृषिको आभुनिकीकरणमा आफ्नो पहल रहने बताउनुभयो ।
घरदैलो कार्यक्रममा उम्मेदवार भट्टराईले तानसेन नगरपालिकाका जनताको आयस्तरमा बृद्धिगर्न र स्वरोजगार गराउन स्थानीयस्तरमा संञ्चालित ढाका करुवा उद्योगहरुलाई व्यवस्थित गराउन आफु प्रतिबद्ध रहेको बताउनुभयो ।













