मुगु र हुम्लामा बिजुली बाल्न हेलिकोप्टरमार्फत् जेनेरेटर लिएर पुगे कुलमान

केन्द्रभाग मिडिया

नेपाल विद्युतप्राधिरणले जेनेरेटरमार्फत् विद्युत्‌ उत्पादन गरी मुगु र हुल्लामा आपूर्ति गर्ने भएको छ । यसका लागि प्राधिकरणले ती जिल्लामा जेनेरेटरको व्यवस्था गरेको छ।

गत असोज १९–२५ गतेसम्मको भारी वर्षासँगै आएको बाढीपहिरोले मुगुस्थित ४०० किलोवाटको गमगाढ र हुम्लास्थित ५०० किलोवाटको हेल्दुङ साना जलविद्युत्‌ गृहको नहरमा ठूलो क्षति पुर्‍याएको छ। नहरमा क्षति पुगी विद्युत्‌ उत्पादन बन्द भएपछि मुगु र हुल्ला जिल्ला विद्युत्‌बिहीन भएका थिए।

प्राधिकरणले गमगढी र आसपासका क्षेत्रमा विद्युत्‌ आपूर्तिका लागि कालिकोटमा रहेको ३०० केभीए क्षमताको जेनेरेटर मुगुमा लगेको छ। हुल्लाको सिमीकोट र आसपासका क्षेत्रमा विद्युत्‌ आपूर्तिका लागि १२५ र १०० केभिएका जेनेरेटरहरुको व्यवस्था गरिएको छ। प्राधिकरणका मुगुमा ३ हजार १०० र हुल्लामा २ हजार ३०० ग्राहक छन्।

जेनेरेटहरु कुलेखानी विद्युत्‌ गृह र नयाँ बुटवल सबस्टेसनबाट सिमिकोट लगिएका हुन्। प्राधिकरणले ती जेनेरेटहरु सडकबाट ढुवानी गरी मुगुको गमगढीसम्म लगेको थियो। राष्ट्रिय सडकले अहिलेसम्म नजोडिएको हुम्लामा गमगढीबाट जेनेरेटर र त्यसका लागि आवश्यक पर्ने डिजेल सेनाको हेलिकोप्टरमार्फत् ढुवानी गरी सिमिकोट पुर्‍याइएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, कर्णाली प्रादेशिक कार्यालयका प्रमुख शम्भु कुसियत यादवसम्मिलित टोली बुधबार जेनेरेटर लिएर सिमिकोट पुगेको थियो।

  • १७ कार्तिक २०७९, बिहीबार १३:३३ प्रकाशित