जनकपुर बम काण्डका मुख्य योजनाकार सञ्जय साहको कैद सजाय घटाइयो

केन्द्रभाग मिडिया

काठमाडौं ।

उच्च अदालत जनकपुरले जन्मकैदको फैसला सुनाइएका पूर्वराज्यमन्त्री सञ्जय साह टकलाको सजाय घटाएको छ । जनकपुर बमकाण्डको मुख्य योजनाकार भनिएका साहको ५ वर्ष कैद सजाय घटाइएको अदालतले जनाएको छ ।

ज्यान मार्ने उद्योगमा १२ वर्ष कैद सजाय सुनाइएका साहलाई उच्च अदालतले ५ वर्ष कैद सजाय घटाइदिएर ७ वर्ष तोकिदिएको छ ।२०६९ साल वैशाख १८ मा जनकपुरको रामानन्द चोकमा भएको शक्तिशाली विष्फोटमा ५ जनाको ज्यान गएको थियो भने ३२ जना घाइते भएका थिए ।

त्यस घटनामा धनुषा जिल्ला अदालतले साहसहित ७ जनालाई जन्मकैद र एक जनालाई ५ वर्षको जेल सजाय सुनाएको थियो । अभियुक्तहरुमाथि ज्यान मार्ने र ज्यान मार्ने उद्योगका दुई मुद्दा परेका थिए।

ती मुद्दाहरुमा फैसला गर्दै जिल्ला अदालतले ज्यान मार्नेमा जन्मकैद र ज्यान मार्ने उद्योगमा १२ वर्षको कैद सजाय सुनाएको थियो । जिल्लाको फैसलाविरुद्ध प्रतिवादीले उच्च अदालतमा रिट दायर गरेका थिए।

जनकपुरका न्यायाधीशद्वय रमेश ढकाल र धीर बहादुर चन्दको संयुक्त इजलासले हिजो १२ वर्षबाट सजाय घटाएर साहविरुद्ध ७ वर्ष कैद सजाय सुनाएको हो ।

साह अहिले काठमाण्डौको नक्खु कारागारमा कैद भुक्तान गरिरहेका छन्

  • १८ आश्विन २०७८, सोमबार १२:४३ प्रकाशित