सेप्टेम्बरसम्म झण्डै दोब्बर विदेशी पर्यटक भित्रिए

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

नेपालमा पछिल्ला दिनमा पर्यटक आगमनमा सामान्य सुधार आएको छ । कोभिड–१९ महामारीको जोखिमकैबीच सरकारले विदेशी पर्यटकका लागि लागू गरेको अनअराइभल भिसाले पर्यटक आगमनमा झिनो सुधार देखिएको छ । ।

विशेषगरी सरकारले विदेशी पर्यटकलाई ‘अनअराइभल भिसा’ को व्यवस्था गरेपछि पर्यटक आगमनमा सकारात्मक प्रभाव परेको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार अंग्रेजी वर्षको सेप्टेम्बर महिनामा विदेशी पर्यटक आगमन झन्डै दोब्बरले बढेको छ ।

सेप्टेम्बर महिनामा झन्डै १० हजार पर्यटक आएका छन् भने अघिल्लो अगष्ट महिना ५ हजार हाराहारी पर्यटक आएका थिए । बोर्डको विवरणमा सेप्टेम्बर महिनामा ९ हजार ९ सय ७४ विदेशी पर्यटक नेपाल आएका छन् । उक्त महिना नेपालबाट ६ हजार ९ सय ४२ विदेशी बाहिरिएका छन् । यो संख्या हवाई मार्ग भएर नेपाल भित्रिएका पर्यटकको मात्रै हो । अघिल्लो महिना ५ हजार ९ सय १९ विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।

सरकारले विदेशी पर्यटकका लागि गरेको नयाँ व्यवस्थाले यस क्षेत्रमा प्रभाव परेको र विदेशी पर्यटक आगमनमा झिनो रुपमा भए पनि सुधार आएको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । उनले भने, ‘विदेशी पर्यटकका लागि अनअराइभल भिसाको व्यवस्थाले यसको आकर्षण सकारात्मक छ, पर्यटकको आगमन बढेको देखिन्छ, यसरी हेर्दा आगामी याममा विदेशी पर्यटक बढ्ने देखिन्छ ।’

सन् २०२१ को ९ महिनामा ७६ हजार ९ सय १३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो संख्या वर्षको जनवरीदेखि सेप्टेम्बर महिनासम्मको हो । कोभिड महामारीले विदेशी पर्यटक आगमनमा ह्रास आयो । सन् २०२० को सेप्टेम्बरमा जम्मा ५ सय ४८ पर्यटक नेपाल आएका थिए । कोभिडपूर्व सन् २०१९ को सेप्टेम्बर महिनामा मात्रै ९२ हजार ६ सय ४ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

कोभिड महामारीको सबैभन्दा धेरै असर मुलुकको पर्यटन क्षेत्रमा परेको छ । विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत विदेशी पर्यटकको संख्या बढ्न नसकिरहेको अवस्थामा पछिल्लो सरकारी व्यवस्थाले पर्यटक आगमनमा सकारात्मक सुधार आएको बोर्डको बुझाइ छ । महामारीकैबीच झिनो संख्यामा भए पनि विदेशी पर्यटक नेपाल आएका थिए ।

  • १७ आश्विन २०७८, आईतवार १६:३१ प्रकाशित