मंगलबार फेवा सफाई महाअभियान, सहभागि हुन मेयर आचार्यको आह्वान

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरले मंगलबार फेवाताल सफाई महाअभियान सञ्चालन गर्ने भएको छ । त्यसका लागि ड्यामसाइडदेखि चंखपुरसम्म ३३ स्थान निर्धाणरण गरिएको पोखरा महानगरपालिकाले जनाएको छ । सफाई अभियानमा ३३ वटै वडाको सहभागिता रहनेछ ।

विश्व रामसार सूचीमा सूचीकृत एवं पोखराको पहिचानका रूपमा स्थापित फेवातालको संरक्षण, विकास र प्रवर्द्धन गर्नु सबैको दायित्व भन्दै सहभागिताका लागि पोखराका मेयर धनराज आचार्यले आह्वान नै गरेका छन् । फेवातालको स्वच्छता र सुन्दरता कायम राख्ने सन्दर्भमा सरकारी तथा गैरसरकारी क्षेत्रबाट विभिन्न प्रयासहरू हुँदै आएपनि वर्षातको समयमा माथिल्लो क्षेत्रबाट बगेर आउने विभिन्न प्रकारका फोहोरजन्य वस्तु तथा जलकुम्भी झारको फैलावटले फेवातालको सुन्दरतालाई संकुचित एवं अस्वाभाविक बनाउने गरेको भन्दै उनले यस सन्दर्भमा विभिन्न क्षेत्रहरूबाट चिन्ता र चासो व्यक्त गरिएका भए पनि पहिलो पटक पोखरा महानगरपालिकाको नेतृत्वमा वृहद सरसफाइ कार्यक्रम गरी फेवातालको उद्धार गरिने जानकारी दिए ।

सफाई अभियान बिहान ७ बजे सुरु हुने र ३३ जना वडा अध्यक्षहरूले त्यसको नेतृत्व गर्ने भन्दै मेयर आचार्यले महाअभियानमा सक्रिय सहभागीताका लागि नागरिक समाज, आमासमुह, टोल विकास संस्था, युवा क्लब, विभिन्न सरकारी तथा गैरसरकारी सङ्घ संस्थाहरू, सहकारी संस्थाहरू, बैङ्क तथा वित्तीय संस्थाहरू, राजनीतिक दल, सुरक्षा निकाय, जनप्रतिनिधि, उद्योगी व्यवसायी, पर्यटन सम्बद्ध सङ्घसंस्थाहरू लगायत सम्पूर्ण सरोकारवालाहरूमा मेयर आचार्यले आह्वान गरेका हुन् । फेवातालको विषयमा धेरै अनुत्तरित प्रश्न रहेको भन्दै उनले सर्वोच्च अदालतले अन्तिम फैसला दिएपछि यसको मापदण्डलाई कडाइका साथ कार्यन्वयनमा लैजाने बताए ।

अन्तिम फैसला नआउँदासम्म तालको ६५ मिटर भित्र कुनै संरचना नबनाउन र बनाउन नदिन सर्वोच्च अदालतले आदेश दिएकाले कुनै संरचना बनाउन नदिइने उनले प्रष्ट पारेका छन् । ‘हाल सर्वोच्च अदालतले हामीलाई अन्तिम फैसला नभएसम्म कुनै संरचना नबनाउनु र बनाउन नदिनु भनेको छ । यसलाई हामी कडाइका साथ पालना गर्छौं । मापदण्ड मिचेर संरचना बनाउँदै गरेकाहरुलाई मैले फेरी भन्छु सर्वोच्चको यो आदेशलाई सम्मान गर्नुहोला’ उनले भनेका छन् ।

मेयर आचार्यले फेवा रोइरहेको मंगलबार उद्धार गर्ने समेत बताए । ‘फेवा रोइरहेकी छन् । यसका विषयमा धेरै अनुत्तरित प्रश्न छन् । ति प्रश्नको जवाफ सर्वोच्चको अन्तिम फैसाला आएपछि दिउँला’ उनले भने, ‘हामी यही २५ गते फेवाको सरसफाईको महाअभियान गर्दै छौं । त्यसदिन फेवाको सरसफाईको हिसावले उद्धार गर्ने हो । सबैको साथ र सहभागिताका लागि आग्रह गर्दछु ।’

उनले फेवातालमा हुने अतिक्रमण नियन्त्रण र अबैध काम रोक्न अहिले पनि महानगरको तर्फबाट पाँच जना नगरप्रहरी खटाइएको जानकारी दिएका छन् । २५ असोजमा महाअभियान सञ्चालन गर्ने र त्यसपछि लगत्तै एउटा संयन्त्र बनाएर निरन्तर ताल सफाईलाई निरन्तरता दिने उनले बताए ।

यस अगाडि पनि अभियान्ता रामबहादुर पौडेल लगायतका सफाई अभियान्ताले फेवासहित पोखरा सफाई अभियान सञ्चालन गरेका थिए । उक्त अभियानले फेवा र पोखराका चोकहरुमा सफा गराउन सहयोग गरेको थियो । मेयर आचार्यले यसपालीको सफाई अभियान यस अगाडिका अभिायान भन्दा बृहद् हुने र उक्त अभियानमा सबैलाई सहभागिताका लागि आह्वान नै गरेका हुन् । उनले अभियानमा सक्रियता देखाउने एक दर्जन भन्दा धेरै संघसंस्थालाई पुरस्किृत गर्नेसमेत घोषणा गरेका छन् ।

 

  • २४ आश्विन २०७९, सोमबार १५:३९ प्रकाशित