नक्कली नोटसहित एकजना पक्राउ

केन्द्रभाग मिडिया

बारा ।
नक्कली नेपाली नोटसहित बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका वडा नं। ५ कनकपुरका जगदेव महतो नुनिया रहेका छन्। साथै प्रहरीले ८२ हजार पाँच सय नक्कली नेपाली नोट पनि बरामद गरेको छ।

महतोको कनकपुरस्थित घरमा लुकाएर राखेको अवस्थामा प्रहरीले एक हजारको ८० थान र पाँच सय तीन थान नक्कली नोट बरामद गरेको हो। महतोले आफू सुत्ने खाटमा माछा मार्ने जालीभित्र उक्त नोट लुकाएर राखेको अवस्थामा फेला पारेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए।

प्रहरीले पत्रकार सम्मेलन गरी महतोलाई नक्कली नोटसहित सार्वजनिक गरेको हो। नक्कली नोटको कारोवारमा अन्यको पनि संलग्नता हुन सक्ने देखिएकाले महतोलाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए।

  • ९ आश्विन २०७९, आईतवार १७:३० प्रकाशित