तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन

केन्द्रभाग मिडिया

पोखरा  ।
तमु धिं नेपालको ३७ औं वार्षिक साधारणसभा तथा तमु धिंमा नवनिर्मित भवन र प्रवेशद्वार उद्घाटन कार्यक्रम शनिवार सम्पन्न भएको छ। पोखरा – ९ नयाँबजार निर्मित भवन र प्रवेशद्धारको गण्डकी प्रदेशका निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री गुरुङले उद्घाटन गरेका हुन् ।

उद्घाटनमा तमु समुदायका तीनवटै खेगीहरु पच्यु गुरु कुलप्रसाद गुरुङ, क्ल्हेप्री गुरु लोकबहादुर गुरुङ र लामा गुरु गोपाल गुरुङले मन्त्रोच्चारण गरेका थिए । उद्घाटन पश्चात प्रमुख अतिथि निवर्तमान मन्त्री गुरुङले नसोचिएको ढंगले अप्रत्यासित गण्डकी प्रदेस सरकार परिवर्तनले तमु धिं नेपालका लागि गर्न सकिने सहयोग हुन नसकेको बताए । आफुले विनियोजन गरेको बजेट हालसम्म पनि निकासा नभएको देख्दा दुःख लागेको बताए ।

कोरोनाको कहरको कठिन अवस्थामा पनि तमु धिं नेपालले छोटो समयमा भवन र प्रवेशद्वार निर्माणले खुशी लागेको बताउँदै आगामी दिनमा आफ्नो तर्फबाट सक्दो सहयोग हुने बताए । सरकार यथावत रहेको भए गत वर्षको निकासामा कुनै समस्या नहुने र यस वर्ष पनि एक करोड जति निकासा गर्ने आफ्नो सोंचले पुर्णता पाउन नसकेको उल्लेख गरे । सामुदायिक विकास, सभ्य समाज निर्माण र समृद्ध मुलुकका लागि तमु समुदाय र तमु धिं नेपालले संस्थागत पहल हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा विशेष अतिथी तमु धिं नेपालकी संस्थापक एवम निवर्तमान अध्यक्ष कर्म तमु, लण्डन बोरो अफ बार्नेटका निवर्तमान उपमेयर तथा काउन्सिलर लक्ष्यबहादुर गुरुङ, तत्कालिन पोखरा उपमहानगरपालिकाका उपमेयर क्या।मनबहादुर गुरुङ, अन्नपुर्ण गाउपालिकाका अध्यक्ष युवराज कुँवरले शुभकामना व्यक्त गर्दै तमु धिं नेपालको कार्यको प्रसंसा गरे।

कार्यक्रममा भवन तथा प्रवेशद्वार निर्माणका सहयोगीहरुलाई सम्मान, संरक्षक सदस्यहरुलाई सदस्यता वितरण, भवन निर्माण उपभोक्ता समितिलाई सम्मान र विभिन्न व्यक्तित्वहरुलाई बधाई ज्ञापन समेत गरिएको थियो। भवन निर्माणका लागि गोपाल गुरुङको अध्यक्षतामा उपभोक्ता समितिले सकृयपूर्वक कार्यसम्पादन गरेको थियो।

साधारणसभामा तमु धिं नेपालकी महासचिव जुनाकुमारी गुरुङद्धारा प्रस्तुत वार्षिक प्रतिवेदन र कोषाध्यक्ष गमबहादुर गुरुङद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन सभाले पारित गरिएको थियो । कोषाध्यक्ष गुरुङका अनुसार भवन तथा प्रवेशद्वार निर्माणका लागि प्रदेश सरकारबाट ४१ लाख ९४ हजार ९६ रुपैया प्राप्त भएको र सहयोगदाताहरुबाट ४६ लाख २३ हजार ३२३ रुपैया सहयोग प्राप्त गरेकोमा २१ लाख २६ हजार १०७ रुपैया रकम नपुग भएकाले सहयोगका लागि आग्रह समेत गरे।

उक्त कार्यक्रममा चार भञ्ज्याङ तमु समाजका केही सहयोगीहरु र बगालेटोल तमु समाजबाट सहयोग हस्तान्तरण गरिएको थियो भने संस्थापक अध्यक्ष कर्म तमुले आफ्नी आमा कर्णेल तिर्थ कुमारी गुरुङ स्मृति कोषमा ५० हजार रुपैया थप गरेकी थिइन् । कार्यक्रममा फुलवारी तमु समाजका पुर्व अध्यक्ष, हाल युके रहनु हुने समाजसेवी जंगबहादुर गुरुङले तमुहरुको परम्परागत सँस्कृति संरक्षणका लागि ट्होटें अक्षयकोषका लागि २ लाख रुपैया तमु धिंलाई प्रदान गर्ने उद्घोष गरे।

  • १६ आश्विन २०७८, शनिबार २०:४८ प्रकाशित