पोखरा ।
पोखराको महेन्द्रपुलमा पोखरा महानगरका जीर्ण संरचना भत्काएसंगै त्यहाँ रहेका सर्वजनिक पुस्तकालय र पोखरा आर्ट ग्यालरी नयाँ बजार स्थित क्षेत्री समाज नेपालको केन्द्रीय कार्यालय भवनमा व्यवस्थापन गर्ने तयारी भएको छ ।
महानगरले पोखरा ९ पृथ्वीचोकमा नयाँ भवन बनाउने र सो भवन नबनाउने बेलासम्मका लागि क्षेत्री समाजको भवनमा अस्थायी रुपमा व्यवस्थापन गर्न गरेको आग्रह क्षेत्री समाजले स्विकार गरेको पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले जानकारी दिए । पोखरा महानगरपालिकाले सुचना केन्द्र, पुस्ताकालय तथा आर्ट ग्यालरी निर्माण गर्न चालु आर्थिक वर्षका लागि दुई करोड रुपैयाँ छुठ्याएको छ ।
दुई वर्ष भित्रमा सक्ने लक्ष्यका साथ उक्त भवन निर्माण गरिने र भवन निर्माण नभएसम्मका लागि क्षेत्री समाजको केन्द्रीय कार्यालय भवनमा पुस्तकालय र आर्ट ग्यालरीको व्यवस्थापन गर्ने तयारी भएको र क्षेत्री समाजले सार्ने पक्रिया अगाडि बढाउन भनेको वडाध्यक्ष मर्सानीले बताए । ‘हामीले आर्ट ग्यालरी र पुस्तकालयलाई बेवारिसे छाड्नेगरी भवन भत्काएका होइनौं । भवन मापदण्ड विपरित र जीर्णसमेत भएकाले पार्किङ वा पार्क र सार्वजनिक सौचालय निर्माणका लागि भत्काएका हौं ।
पृथ्वीचोकमा सुचना केन्द्र, पुस्तकालय तथा आर्ट ग्यालरी राख्ने हो । त्यसका लागि बजेट छुट्टिएको छ । छिट्टै निर्माण प्रक्रिया थाल्छौं । भवन निर्मांण हुन दुई वर्षजति समय लाग्ने भएकाले त्यतिन्जेल क्षेत्री समाजलाई भवन उपयोग गर्न दिन आग्रह गरेका हौं । उहाँहरुले दिन्छौं भनेर प्रक्रिया अगाडि बढाउन भन्नुभएका छ’ उनले भने ।
वडाध्यक्ष मर्सानीले मेयर धनराज आचार्यको निरन्तर चासो र वडा अनि महानगरको समन्वयमा सबै काम भइहरेको जानकारी दिए । तर, आर्ट ग्यालरी र पुस्तकालय बेवारिसे बनाए भनेर गलतढंगले प्रचार गरिएको उनले गुनासो गरे । ‘हामीले सबै व्यवस्थापन र विकल्प सोचेरै पुरानो भवन भत्काएका हौं । नागरिकलाई उदाहरण दिन आफ्नै संरचनाबाट भत्काउने थालनी गरेका हौं । तर, यहाँ आर्ट ग्यालरी र पुस्तकालयलाई अलपत्र पारियो भनेर अनर्गल रुपमा प्रचार गरियो’ उनले भने ।
क्षेत्री समाज नेपालका महासचिव केशबहादुर केसीले पोखरा महानगरले गरेको आग्रह बमोजिम सशर्तरुपमा आर्ट ग्यालरी र पुस्तकालय भवन निर्माणका लागि भवन उपलब्ध गराउने निर्णय भएको जानकारी दिए । पोखरा महानगरले आग्रह गरेपछि समाजको हितका लागि खोलिएको संस्था भएकाले हुन्छ पक्रिया अगाडि बढाउनुस् भनेका हौं’ उनले भने ।