काठमाडौं।
पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका शीर्ष नेता झलनाथ खनालले एमालेको विधान महाधिवेशन दक्षिणपन्थी अवसरवादीहरूको ज्याम्बोरी भएको बताएका छन् । केपी ओली धुपौरे, हनुमान र रमितेहरू बटुलेर पञ्च र्याली गरिरहेको उनको आरोप छ ।
रेडियो कार्यक्रम नेपाली बहसमा कुरा गदै खनालले भने, “गोदावरीमा एमालेको विशेष महाधविशेन दक्षिणपन्थी अवसरवादको कुम्भमेला हो, ज्याम्बोरी हो ।
त्यहाँ संस्थागत रुपमा भइरहेको केपी ओलीको देवत्वकरण पेटी बुर्जुवा प्रवृत्ति हो । हाई हाई केपी, आई लभ केपी जस्तो देवत्वकरण गैरकम्युनिस्ट चरित्र हो । यो सामन्ती संस्कृतिको प्रतिबिम्ब हो र राजा महाराजाको फोटोकपी हो । तिनलाई आफ्नो लक्ष्य, सिद्धान्त, आदर्शसँग मतलब छैन, गाली गर्न पाए पुग्यो । सच्चा कम्युनिस्ट त विधि, सिद्धान्त र नीतिनिष्ट पो हुन्छ ।”
उनले थपे, “हिजो ओलीले मदन भण्डारी फाउन्डेसनका नाममा देशभरि गुट खडा गरेका थिए । नवौं महाधिवेशनमा त्यही गुटबन्दीले नेतृत्व कब्जा गर्यो र पार्टीलाई दक्षिणपन्थी अवसरवादमा धकेलेर पठायो । पार्टीलाई गलत दिशामा हाँक्दै सरकार बनेपछि निरंकुशतावाद, सर्वसत्तावाद, व्यक्तिवाद र अहंकारवाद लागू गरे ।
ओलीले गुट बनाएकै त्यसका लागि हो । उनी आलोचकसँग सहकार्य गर्न सक्दैनन् । उनको ध्यान नै वरिपरि धुपौरे, हनुमान, एसम्यानहरु बटुल्नेमा छ । २०४६ सालको चैतमा पञ्चहरु पञ्च र्याली गरिरहेका थिए । २६ गते त बहुदलीय घोषणा भयो । अहिले पनि धेरै जना रमिता हेर्न आएका हुन् ।”
एमालेको दोस्रो र तेस्रो पुस्ताका नेताहरु ओलीको मूतको न्यानोमा निदाएकोआरोप पनि लगाए । उनले भने, “हिजो त ओली विरुद्ध आवाज उठाउनेहरु थिए, अहिले ओलीको देवकत्वकरणसामू लज्जावती झारजस्तो मुर्झाएका छन् ।
एमालेमा अरुको भ्वाइस छैन, ओलीको मात्र भ्वाइस छ । उनले दुई तिहाइ बहुमत ध्वस्त पारेको कुरा कसैले उठाउँदैन । दुईदुई पटक संसद् विघटन गरेर लोकतन्त्रमाथि खतरा उत्पन्न गरे । अहिले संसद् चल्न दिएका छैनन्, त्यो भष्मासुरे शक्ति हो । यस्तो गुटको भविष्य छैन ।”