काठमाडौं ।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली सिनेमालाई हल नदिएको आरोप लगाएर आफ्नो बदनाम गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन्। मंगलवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।
अध्यक्ष केसीले आफू र चलचित्र विकास बोर्डले नेपाली सिनेमालाई हल दिएन भनेर नकारात्मक हल्ला फैलाइ आफ्नो बदनाम गर्ने कोसिस भएको बताए। उनले चलचित्र विकास बोर्डले चलचित्र विकासका लागि काम गरिरहेको भन्दै आगामी दिनमा नेपाली चलचित्र क्षेत्रलाई उचाइमा पुर्याउने बताए।
अध्यक्ष केसीले नेपाली सिनेमालाई नेपालमा नै सोचेजति साथ र सहयोग नमिलेको गुनासो पनि गरे। उनले बाहिरी देशका चलचित्रहरूले पनि नेपालमा स्थान पाउनुपर्ने तर पहिलो प्राथमिकता भने नेपाली चलचित्रलाई नै हुनुपर्ने बताए। अध्यक्ष केसीले चलचित्र क्षेत्रको विकासका लागि सरकार सकारात्मक रहेको उल्लेख गर्दै चलचित्रका केही नीति, नियम परिवर्तन गर्न जरुरी रहेको पनि बताए।