सन्दीप लामिछाने अध्यागमनको कालोसूचीमा

केन्द्रभाग मिडिया

काठमाडौं ।

बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ। १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका उनलाई नेपाल आउनासाथ पक्राउ गर्ने गरी कालो सूचीमा राखेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार उनी जतिबेला पनि नेपाल आउन सक्ने हुँदा प्रहरीलाई ‘अलर्ट’ गरिएको छ।

विमानस्थलबाटै नेपाल आउने सम्भावना उच्च भएकाले जिल्ला प्रहरी परिसर काठमाडौंको पत्राचारपछि उनलाई कालोसूचीमा राख्न भनिएको कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपेन्द्र घर्ती क्षेत्रीले जानकारी दिएका छन्।

काठमाडौं जिल्ला अदालतले उनलाई पक्राउ गर्न गत बिहीबार अनुमति दिएको थियो। पुर्जी जारी भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई कप्तानबाट निलम्बन पनि गरिसकेको छ।

लामिछाने जुनसुकै स्थानबाट पनि नेपाल आउन सक्ने हुँदा प्रहरीले देशैभर पक्राउ गर्न पत्राचार गरेको छ। गत शुक्रबार सन्दीपले फेसबुकमार्फत आफूले सिपिएल छाडेर केही दिनमै नेपाल आउने बताएका थिए। उनले आफूमाथि लागेको आरोपको सामना गर्ने र निर्दोष भएको बताएका थिए।

लामिछाने नेपाल कहिले आइपुग्छन् भन्ने टुंगो लागेको छैन। उनी नेपाल नफर्किए इन्टरपोलको सहयोगमा उनलाई पक्राउ गरिने पनि प्रहरीको भनाइ छ।

भदौ ५ गते काठमाडौंको एक होटलमा पुर्‍याएर १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको भन्दै लामिछानेविरूद्ध गत मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो।

  • २६ भाद्र २०७९, आईतवार १३:५८ प्रकाशित