काठमाडौं ।
नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रतामा कुनै पनि प्रकारका संकुचन हुनेगरी मिडिया काउन्सिल विधेयक अगाडि बढाए त्यसविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।
महासंघले आज एक विज्ञप्ति जारी गर्दै सरकारलाई उक्त चेतावनी दिएको हो । २०७६ साल माघ २३ गते राष्ट्रिय सभाले पारित गरेर हालसम्म अलपत्र अवस्थामा रहेको ‘मिडिया काउन्सिल विधेयक’ यही भाद्र १७ गते शुक्रबार प्रतिनिधिसभामा प्रस्तुत भएको छ ।
राष्ट्रिय सभाले संशोधनसहित पारित गरेको उक्त विधेयकमा रहेका कतिपय प्रावधानहरूप्रति गम्भीर चासो र बिमति रहँदै आएको महासंघले जनाएको छ । उक्त विधेयक राष्ट्रिय सभामा दर्ता भएसँगै प्रेस स्वतन्त्रताविरोधी प्रावधान सच्चाउन महासंघ सडक संघर्षमा उत्रेको स्मरण विज्ञप्तिमा गरिएको छ ।
महासंघको दबाबकै कारण राष्ट्रिय सभाबाट विधेयकमा रहेका समाचार लेखेकै कारण पत्रकारहरूलाई दश लाख रुपैयाँसम्म जरिवाना गर्ने, सरकारले नियुक्त गरेका व्यक्तिले पत्रकारको परीक्षा लिएर पत्रकारिता गर्न अनुमति दिनेलगायतका कैयांै प्रेस स्वतन्त्रताविरोधी प्रावधानलाई सच्चाइएको थियो ।













