विगतका गिरिजा प्रसाद कोईराला जस्तै हालका गगन थापा !

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले कास्कीमा उम्मेद्वारी दावी गरेको सार्वजनिक भएसंगै यसको चर्चा देशैभर चलेको छ । तर, गगनको उम्मेदवारी दावी पेश गरिदिएका कांग्रेस कास्कीका सचिव भानु ढकालले भने उनले कास्कीमा उठ्न भन्दापनि यहाँका कार्यकर्ताको चाहना व्यक्त गरेको प्रतिक्रिया दिए ।

उनले विगतमा स्व. गिरिजा प्रसाद कोईरालासंग हालका गगन थापाको तुलना गरेका छन् । ‘उहाँ काठमाडौं ४ बाट नै उठ्नुहुन्छ । देशभरका कार्यकर्ताको चाहना आफ्नो नेता आफ्नो ठाउँमा आइदिओस् भन्ने हुन्छ । त्यही चाहना बमोजिम हामीले यहाँ महामन्त्री ज्युको उम्मेद्वारी दावी पेस गरेका हौं । हिजो गिरिजा प्रसाद कोइरालाको पनि यसरी नै देशका विभिन्न निर्वाचन क्षेत्रमा कार्यकर्ताले उम्मेद्वार दावी पेश गराउँथे । कास्की १ र काठमाडौं ४ मा मात्र होइन देशका अरु धेरै ठाउँमा महामन्त्री थापाको उम्मेदवारी दावी पेश भएका छन्’ उनले भने ।

कांग्रेस कास्की सचिव ढकाललाई केन्द्रखबरले ‘तपाईको उम्मेदवारी दर्ता गराएको महामन्त्री थापालाई जानकारी छ कि छैन ?’ भन्ने जिज्ञासामा उनले गगन थापाले सार्वजनिक सञ्चार माध्यमबाट जानकारी पाएपछि आफूले अन्त उम्मेद्वारी नदिएको प्रतिक्रिया दिइसकेको बताए ।

‘महामन्त्री थापाले काठमाडौं बाहेक अन्यत्र मैले उम्मेदवारी दिएको छैन भनेर प्रतिक्रिया दिइसक्नुभएको छ । साधेरे उम्मेदवारी दर्ता गराएको भए उहाँले त्यसो किन भन्नुहुन्थ्यो र ? उहाँले होइन हाम्रो चाहना र आकांक्षाले उहाँको उम्मेद्वारी दावी गरेको हो’ उनले भने ।

  • १५ भाद्र २०७९, बुधबार १६:२२ प्रकाशित