पोखरा ।
पोखरादेखि सुनौलीसम्म फास्ट ट्रयाक बनाउन सके आर्थिक विकासमा टेवा पुग्न पोखरा महानगरका मेयर धनराज आचार्यले बताएका छन् ।
सिद्धार्थ आर्थिक करिडोरका स्थानीय तहका प्रमुखहरुको मञ्चले हिजो (शनिबार) आयोजना गरेको गोष्ठी मेयर आचार्यले सो भनाई राखेका हुन् ।आचार्यले सिद्धार्थ राजमार्गको स्तरोन्नति विना आर्थिक समृद्धि हासिल गर्न नसकिने बताए ।
उनले भारत तथा चीनलाई जोड्ने उत्तर दक्षिण नाकालाई सुदृढ बनाएर व्यापार प्रर्वद्धन गर्न सकिने उल्लेख गरे। महानगरले समुन्नत पर्यटकीय पोखरा भन्ने नाराका साथ काम गरेको जानकारी दिँदै पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न औपचारिक प्रस्ताव गरेको उनले बताए ।
मञ्चका संयोजक तथा तानसेन नगरपालिकाका मेयर सन्तोषलाल श्रेष्ठले सिद्धार्थ राजमार्गसँग जोडिएका पोखरादेखि सुनौलीसम्मका १५ पालिका एकापसमा सहकार्य गरेर सामाजिक एवं भौतिक विकास तथा आर्थिक समृद्धिका योजना अगाडि बढाउनुपर्नेमा जोड दिए ।
उनले सिद्धार्थ आर्थिक करिडोर राजमार्गसँग जोडिएका पालिकाको सामाजिक र आर्थिक विकासका लागि अगाडि सारिएको साझा अवधारणा भएको जानकारी दिए । उनले मञ्चका गतिविधि २०७६ मंसिरदेखि सुरुवात भएको बताए ।
पोखरादेखि सुनौलीसम्मको राजमार्गमा पर्यटनका अलवा कृषि, पशुपालन तथा जडिबुटी जन्य उद्योगलाई एकीकृत रुपमा अगाढि बढाउने उनीहरुले सहमत जाहेर गरेका छन् ।













