पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले आफू शान्ति सुरक्षा कायम राख्न दिन रात नभनी खट्ने बताएका छन् । हालै कास्की प्रहरीको नेतृत्व गर्न आइपुगेका उनले शनिबार सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
उनले मुख्य गरि ड्रग्स र साइबर ब्युरोलाई महत्व दिएर काम गर्ने बताए । ‘यस जिल्लामा भर्खरै आएकाले अध्ययन गर्दैछु । एक अर्कालाई हातेमालो गर्दै अगाडी बढियो भने समाजमा रहेका विकृति, विसंगतिहरुलाई हटाएर सभ्य र शान्त समाजको निर्माण गर्न सक्छौं । हामी तपाईहरुको सुरक्षाका लागि २४ सै घण्टा खटिन प्रतिवद्ध छौं’ उनले भने ।
त्यस्तै सामुदायि प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका कार्यबाहक अध्यक्ष भिम पराजुलीले सेवा केन्द्रले लागुऔषध नियन्त्रणमा महत्वपूर्ण भुमिका खेलिरहेको बताए । सचेतनाका विभिन्न कार्यक्रम गरिरहेको र यसले समाजमा सकारात्मक असर परेको दावी समेत पराजुलीले गरे । उक्त स्वागत कार्यक्रममा वक्ताहरुले सामुदायिक प्रहरी सेवा केन्द्रमा थप १ जना प्रहरी आवश्यक रहेको बताएका थिए ।
समुदायमा भइरहेका अहिलेको अवस्थाको बारेमा जानकारी दिने उद्देश्यका साथ सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिले नयाँ आएका कास्की प्रहरी प्रमुखलाई स्वागत तथा जानकारी गराएको हो ।













