काठमाडौं ।
अर्थमन्त्री प्रकरणमा गृहले सीसीटीभी फुटेज १६ दिन भन्दा धेरै नरहने बताएको छ ।
गृहमन्त्रालयले सिंहदरबारको गेटको सीसीटीभी फुटेज १६ दिनभन्दा धेरै नरहने भनी पत्र पठाएको छ । शर्मामाथि छानबिन गरिरहेको समितिले साउन ८ गते सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज मगाउने निर्णय गरेको थियो ।
आज गृहमन्त्रालयले समितिलाई पत्र पठाएर सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज १६ दिनभन्दा धेरै नरहने जवाफ दिएको हो । छानबिन समिति बैठकले थप प्रमाण जुटाउने क्रममा जेठ १४ गते राति सिंहदरबार आउजाउ गरेकाहरू हेर्न दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज मगाउने भएको थियो ।
समितिले प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाएको अर्थमन्त्रालयको सीसीटीभीको हार्डडिस्कको रिकभर भिडिओसहितको रिपोर्ट हिजो आइसकेको छ । जेठ १४ गतेको सीसीटीभी फुटेज रिकभर भए पनि मन्त्रालय छिरेको मान्छे भने नचिनिएको बताइएको छ । समितिले आज साँझ फरेन्सिक ल्याबका विज्ञसँग छलफल गर्दैछ ।
रिकभर फुटेजमा प्रष्ट नभएपछि सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज केही सघाउने अपेक्षा समितिले राखेको थियो । तर, गृहले १६ दिनभन्दा धेरै गेटको फुटेज नरहने भनेर जवाफ पठाएको हो ।














