लोकप्रिय कम्युनिष्ट आन्दोलनलाई ओलीले आलोकप्रिय बनाउन खोजे : अध्यक्ष नेपाल

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपालको लोकप्रिय कम्युनिष्ट आन्दोलनलाई एमाले अध्यक्ष ओलीले अलोकप्रिय बनाउने प्रयास गरेको आरोप लगाएका छन् । पुष्पलाल स्मृति प्रतिष्ठान कास्कीले पोखरामा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्र्दै उनले यस्तो आरोप लगाएका हुन् ।

नेपालका कम्युनिष्ट पाटीहरुले विभाजित रुपमै भएपनि जनतामा देशभक्तिको जागरण ल्याएको र धेरै जनता कम्युनिष्ट रहेका चर्चा गर्दै उनले कम्युनिष्ट माथि गरेको विश्वासलाई एमाले अध्यक्ष ओलीले कायम राख्न नसकेको बताए । तत्कालिन एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल हुँदै एकता प्रक्रियामा जाँदा प्राप्त भएको शक्तिको स्मरण गर्दै उनले केपी ओलीमा अहंकार आउँदा शक्ति गुमेको टिप्पणी गरे ।

उनले एमसीसी भित्र्याउने, एसपीपी सम्बन्धि डकुमेन्ट अगाडि बढाउने र नेपालको भूमि समेटेर छापिएको नक्सालाई समावेश भएको पाठ्य पुस्तक प्रकाशनमा रोक लगाउने जस्ता काम केपी ओलीका पालामा भएको बताए । ‘२०७४ को निर्वाचन मार्फत कम्युनिष्ट पार्टीलाई जनताले दिएको अवसर यत्तिकै खेर गयो । कहिलेकाहीँ कम्युनिष्ट नेतृत्वमा गैरकम्युनिष्ट चरित्र हावी हुँदो रहेछ । मै स्टेट, मै सरकार भन्ने भ्रम हुँदोरहेछ । एमसीसी भित्र्याउने, एसपीपी सम्बन्धि डकुमेन्ट अगाडि बढाउने र नेपालको भूमि समावेश गरेर छापिएको नक्सा समेटिएको पाठ्यपुस्तक प्रकाशन गराउन नदिने जस्ता काम केपी ओलीबाट भयो’ उनले भने । अध्यक्ष नेपालले ओलीले अदालतको सहारा लिएर पार्टी विभाजन गरेको समेत आरोप लगाए ।

पूर्व प्रधानमन्त्री समेत रहेको अध्यक्ष नेपालले सम्मानजनक सिट बाडफाड नभए अफ्नो पार्टी हेरेर नबस्ने चेतावनी दिएका छन् । ‘जम्मै आँफै खाने अनि उघ्रेको अरुलाई दिने कुरा कुनै पार्टी विशेषले सोच्छ भने, त्यो पनि हामी टुलुटुलु हेर्नेवाला छैनौ, आफ्नो शक्तिमा भरोसा गरेर अगाडी बढ्छौं’ नेता नेपालले भने ।

नेपाली कांग्रेसले बहुमत ल्याउने गरे गठबन्धन गर्ने निर्णय गरेको प्रति लक्षित गदैँ नेता नेपालले यस्तो बताएका हुन्। अध्यक्ष नेपालले गठबन्धनमा मात्रै भर पर्ने नभई पार्टीको शक्ति बनाउने कुरामा ध्यान दिन कार्यकर्तालाई आग्रह गरे । पुष्पलालाई स्मरण गदै नेपालले एक्लै भए पनि आट गरेर अगाडी बढेपछि पार लाग्ने बताए ।

नेता नेपालले आउने चुनावसम्म गठबन्धन कायमै रहने समेत बताएका छन् । कसैको प्रयासले गठबन्धन नभत्कने उनको टिप्पणी छ । संविधान जोगाउन, प्रतिगमन रोक्न र संघीयतालाई जोगाउनका लागि विद्रोह गरेर समाजवादी पार्टी र गठबन्धन बनाउनुपरेको प्रष्टिकरण दिएका उनले नेपाली जनताको भरोसालाई टुट्न नदिनेगरी कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाइने धारणा राखे ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एव गण्डकी प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए भने माओवादी केन्द्रका पोलिट्व्युरो सदस्य एवं गण्डकी प्रदेशका पूर्वमन्त्री हरिबहादुर चुमान र बाम बुद्धिजिवी तीलक पराजुलीले कार्यपत्र माथि टिप्पणी गरेका थिए । उक्त कार्यक्रममा पुष्पलाल स्मृति प्रतिष्ठान कास्कीका अध्यक्ष बजयबाबु बनबासी र सचिव ढाकामोहन पराजुली, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एव पोखराका मेयर धनराज आचार्य लगायतले बोलेका थिए ।

  • ९ श्रावण २०७९, सोमबार १९:३५ प्रकाशित