पोखरा ।
पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष एवं पोखरेली कवि तेजनाथ घिमिरेको निधन भएको छ । शनिबार बिहान २ बजेर १२ मिनेटमा उनको निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
पोखरा ३ नदीपुर निवासी घिमिरे लामो समयदेखि उच्च रक्तचाप, मधुमेह तथा दम रोगबाट पीडित थिए । उनलाई अक्सिजन दिएर घरमै उपचार गराइएकोमा आज बिहान ८३ वर्षको उमेरमा निधन भएको हो ।
उनका २ श्रीमती ५ छोरा, २ छोरी छन् । उनको आजै ९ बजे सतीनदी किनार तुसली घाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।
लामो समय शिक्षण पेशामा आवद्ध घिमिरेले हिमदूत पत्रिकामा पनि काम गरेका थिए । नेपाली कांग्रेस निकट शिक्षक संघ कास्कीको संस्थापक अध्यक्ष समेत रहेका स्वर्गीय घिमिरेका देशकाल, अनावरण, कालचक्रलगायतका कृतिहरु प्रकाशित छन् ।













