विराटनगर : उच्च अदालतको गेटमै दिनदहाडै व्यवसायीमाथि खुकुरी प्रहार

केन्द्रभाग मिडिया

विराटनगर ।
विराटनगरमा दिनदहाडै एक व्यवसायीमाथि खुकुरी प्रहार भएको छ ।

उच्च अदालत विराटनगरको गेटमै युवा व्यवसायी ३२ वर्षीय कलामसिंह लामामाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । काभ्रे घर भइ भक्तपुरको सूर्यविनायक नगरपालिका–८ मा बस्दै आएका युवा व्यवसायी लामामाथि आइतबार अपरान्ह १२ बजेतिर खुकुरी प्रहार भएको हो । उनी आइतबार बिहान मात्रै विराटनगर  पुगेको बताइएको छ।

मोरङ प्रहरीको अनुसार खुकुरी प्रहारबाट लामाको हात, पेट लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ। उनको अवस्था खतारमुक्त रहेको र विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

विराटनगरस्थित वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठको ल–फर्मबाट निस्किएर उच्च अदालतको गेट अगाडि पुगेपछि लामामाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ।

लामा मोरङको कटहरी गाउँपालिका–६ मा रहेको मोरङ राजधानी इँटा उद्योगका लगानीकर्ता हुन् । उनको काठमाडौंमा सहकारी पनि रहेको बताइएको छ।

मोरङको कटहरीमा रहेको इँटा उद्योगमा लामाले दुई वर्षअघिदेखि लगानी गरेका थिए।इँटा उद्योगसँग सम्बन्धित कामले विराटनगर गएका बेला पुरानो विवादलाई लिएर लामामाथि खुकुरी प्रहार भएको अनुमान प्रहरीले गरेको छ।

लामामाथि खुकुरी हान्ने विराटनगर महानगरपालिका–११ का २७ वर्षीय विमल कार्कीलाई प्रहरीले पक्राउ गरेको छ।घटनामा संलग्न भनिएका अर्का एक युवा फरार रहेको उनको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । युवाको खोजी तीव्र पारिएको प्रहरीले बताएको छ।

  • १० आश्विन २०७८, आईतवार १५:२२ प्रकाशित