डोनाल्ड ट्रम्पकी जेठी श्रीमती इभानाको निधन

केन्द्रभाग मिडिया

एजेन्सी ।

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पकी जेठी पत्नी इभाना ट्रम्पको निधन भएको छ ।

ट्रम्पको तीन सन्तानकी आमा रहेकी इभानाको ७३ वर्षको उमेरमा निधन भएको ट्रम्प स्वयमले पुष्टि गरेका छन् ।

ट्रम्पले आफ्नो सोसल मिडिया प्लेटफर्म ट्रुथ सोसलमा उनको सम्झनामा सन्देश लेखेका छन् ।उनले लेखेका छन्, ‘उनी एक शानदार महिला थिइन्, सुन्दर र अद्भुत… जसले उत्कृष्ट र प्रेरणादायी जीवन बिताइन् ।’

इभाना ट्रम्पको जन्म चेक रिपब्लिकमा भएको थियो र उनले सन् १९७७ मा डोनाल्ड ट्रम्पसँग विवाह गरेकी थिइन् । तर, १५ वर्ष सँगै बसेपछि सन् १९९२ मा उनीहरुको सम्बन्धविच्छेद भएको थियो ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुको अनुसार उनको मृत्यु कुनै आकस्मिक कारणले भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।समाचार एजेन्सीले लेखे अनुसार इभाना न्युयोर्कमा उनको घरको सिँढी नजिकै मृत भेटिएकी थिइन् । उनी लडेको हुनसक्ने आशंका गरिएको छ ।

  • ३१ असार २०७९, शुक्रबार १०:१९ प्रकाशित