क्षेत्रीय अस्पतालमा क्याथ ल्याव स्थापना, मुटुरोगीलाई अब हेलि प्रयोग गरेर काठमाडौं लैजान नपर्ने

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा अब मुटुका रोगीहरुले सहज उपचार पाउने प्रबन्ध भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई क्याथ ल्याव मेशिन उपलब्ध भएसंगै सहज उपचारको प्रबन्ध भएको हो । बिहीबार एक कार्यक्रमका बीच पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा जडान गरिएको क्याथ ल्याव मेशिन हस्तान्तरण भएको छ ।

रोटरी इन्टरनेशनल वर्ष २०२१÷०२२का अन्तराष्ट्रिय अध्यक्ष शेखर मेहताले नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङलाई र मन्त्री खापुङले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति जीतबहादुर क्षेत्रीलाई हस्तान्तरण गरेका हुन् । क्याथ ल्याव कक्षको स्वास्थ्य मन्त्री खापुङ, पोखरा महानगरका मेयर धनराज आचार्य र रोटरी इन्टरनेशनल वर्ष २०२१÷०२२ का अन्तराष्ट्रिय अध्यक्ष मेहताले संयुक्त रुपमा उद्घाटन गरे ।

क्याथ ल्याव हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि मन्त्री खापुङले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गण्डकी प्रदेशका नागरिकलाई पु¥याएको सेवा प्रसंसनीय रहेको बताए । आफूले बिहीबार नै अस्तालको निरीक्षण गरेको र सबै समस्या बुझेको भन्दै श्रोत साधनले भ्याएसम्म अस्पतालको सेवा र विकासका लागि श्रोत उपलब्ध गराउने प्रतिवद्धता जनाए ।

पोखरा महानगरका मेयर धनराज आचार्यले सरकार एक्लैले केही गर्न नसक्ने तर सबैपक्षले मिलेर काम गर्ने हो भने धेरै गर्न सकिने बताए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान संघ सरकार अन्तर्गत रहेपनि कार्यक्षेत्र पोखरा रहेकाले पोखरा र समग्र गण्डकी प्रदेशका नागरिकले लाभ लिने अवसर पाएको बताए । उनले महानगरको तर्फबाट अस्पतालसंग सहकार्य गर्न तयार रहेको बताए ।

रोटरी इन्टरनेशनल वर्ष २०२१÷०२२ का अन्तराष्ट्रिय अध्यक्ष शेखर मेहताले क्याथ ल्याव मेशिन जाडानले यस क्षेत्रका नागरिकले सर्वसुलभ सेवा प्राप्त गर्ने अपेक्षा प्रकट गरे । उनले भारतमा नेपालबाट बार्षिकरुपमा दुई सय जनाको मुटुको उपचार निसुल्क गर्ने प्रबन्ध पनि अफूहरुको तर्फबाट गरिदिने घोषणा गरे ।

अस्पताललाई मेशिन प्रदान गरिएकोमा प्रतिष्ठानका उपकुलपति जीतबहादुर क्षेत्रीले आभार प्रकट गरे । एमआरआई मेशिन ल्याइएको र अन्य उपकरणहरुपनि क्रमस जोडेर सेवालाई आधुनिकिकरण गर्दै लगिएको उनले जानकारी दिए ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा करिव ५ करोड रुपैयाँ खर्च गरेर दुई वर्ष अगाडि ल्याइएको मेशिन गत माघमा जडान गरिएको थियो ।

मुटुको उपचारका लागि जडान गरिएको क्याथ ल्यावाट एन्जिओग्राम, एन्जियोप्लाष्टि र मुटुको शल्यक्रियाका लागि आवश्यक जाँच गरिन्छ । यो आधुनिक अमेरिकी उपकरण हो । जो आईजिएस ३२० अप्टिमा ब्राण्डको रहेको रोटरी क्लव अफ पोखराका पूर्व अध्यक्ष तथा रोटरी मुटु उपचार केन्द्र परियोजनाका संयोजक बाबुराम बरालले जानकारी दिए ।

अस्पतालका निर्देशक डा. भरतबहादुर खत्रीका अनुसार उक्त मेशिन सञ्चालनमा ल्याउँदासम्म करिव ७ करोड रुपैयाँ खर्च भएको जानकारी दिएका छन् ।

  • ३० असार २०७९, बिहीबार १८:१४ प्रकाशित