पोखरा।
पोखरा महानगरपालिका वडा नं २७, २९ र ३३ को त्रिवेणी मदौरुकुना मदौरुघाटस्थित नर्मदेश्वर मोक्षाश्रमधाममा एक महिने हरिनाम संकीर्तन गरिने भएको छ ।
कर्दम–कश्यपजस्ता ऋषिमुनिहरूको साधनास्थलका रूपमा लिइने शुक्ला गण्डकी र बगादी नदीको सङ्गमस्थलमा रहेको यस तीर्थस्थलमा यही साउन १ गतेदेखि महिनाभर लोक कल्याणको कामना गर्दै हरिनाम संकीर्तन गर्न लागिएको नर्मदेश्वर मोक्षाश्रमधाम संरक्षण समितिका अध्यक्ष झविन्द्रराज आचार्यले जानकारी दिए।
प्राचीनकालदेखि साधकहरूको अभिलाषा पूर्ण गर्ने तीर्थस्थलका रूपमा परिचित भए पनि यस तीर्थस्थलको आवश्यक प्रचारप्रसार भने हुन नसकेको उनले बताए ।
तीर्थस्थलको महत्वलाई थप उजागर गर्दै पूर्वाधार विकासका योजनालाई अघि बढाएको समितिले धाम परिसरमा द्वादश ज्योतिलिङगसहित जमिनमुनि १५ फिट गहिराइ, ३२ फिट लम्बाइ र १५ फिट चौडाइको गर्भगृहमा ११ फिट उचाइको श्री नर्मदेश्वर शिवलिङ्ग स्थापना गर्ने लक्ष्यका साथ आफ्नो कृयाशिलता बढाएको छ ।
बाह्र रोपनी क्षेत्रफलमा फैलिएको मन्दिर परिसरमा सर्वेश्वर शिव, श्रीरामचन्द्र, श्रीकृष्ण आदि भगवान्का लीला शैलीमा आधारित कलात्मक मूर्ति रहने जनाइएको छ ।मन्दिरको उचाइ जमिनको सतहबाट ४५ फिट र चौडाइ ५० फिट हुने र नेपाल आमा एवं अवतारी महापुरुषहरूको मूर्ति स्थापना गरी यस क्षेत्रकै अपूर्व दर्शनीय धाम बनाउने लक्ष्य राखिएको छ ।
समितिले धाममा साधु, सन्त, वृद्धवृद्धा, ब्रम्हचारी, बटुक र भक्तजनका लागि नित्य भोजन, आवासका साथै अन्य अतिथि तथा धार्मिक पर्यटकका लागि प्राथमिकतानुसार आतिथ्य भोजन उपलब्ध गराउँदै आएको छ । उक्त कार्यका लागि मुठ्ठीदानको आह्वान गरिएको छ ।
अध्यक्ष आचार्यका अनुसार समितिले धाममा गौशाला, विशाल अतिथिगृह, पोखरा तथा मुक्तिनाथमा आउनुहुने तीर्थालुका लागि सुविधासम्पन्न भवन, गौशाला, यज्ञमण्डप, १०८ शिवलिङ्ग, धर्मकुवा, महाकालेश्वर अखण्ड दीप, १०८ दीपलगायतको निर्माणका लागि लघु तथा गुरुयोजना अघि सारेको छ ।
धाममा वैदिक सनातन आधुनिक गुरुकुल पाठशाला स्थापनाको लक्ष्यसमेत राखिएको छ । गुरुयोजनानुसार पूर्वाधार निर्माणका लागि रु आठ करोड लागतको अनुमान गरिएको बताउँदै उहाँले लक्षित योजनामध्ये ४० प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिए ।














