सुनसरी ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४ वर्षीय बालकको क्यान्सर ट्युमरको दुर्लभ र जटिल शल्यक्रिया भएको छ ।
प्रतिष्ठानको न्युरो सर्जन युनिट र कार्डियो थोरासिक भास्कुलर युनिट (सीटीभीएस) मिलेर भारतको बिहार प्रान्तका सात वर्षीय बालकको न्युरोग्याङ्गिलिओमा भएको क्यान्सरको ट्युमरको शल्यक्रिया गरेका हुन्।
निकै दूर्लभ मानिएको यो क्यान्सरको ट्युमर ती बालकको घाँटीबाट सुरु हुने मेरुदण्डको हड्डी हुँदै फोक्सोको धेरैजसो भागमा फैलिएको थियो ।
शल्यक्रियामा संलग्न प्रमुख न्यूरो सर्जन डा। आलोक दाहालका अनुसार १० लाखमा एक जनालाई हुने यो क्यान्सर बालबालिकामा देखिनु अझ दुर्लभ हो । उनका अनुसार क्यान्सरको ट्युमरलाई पहिले न्युरो युनिटले र दुई सातापछि सीटीभीएस टिमले शल्यक्रिया गरेर झिकेका थिए ।
न्युरोग्याङ्गिलिओमाले च्याप्दै लगेपछि ती बच्चाको उमेर करिब चार वर्ष नपुग्दै हातखुट्टा चल्न छाडेको थियो भने फोक्सोमा पनि ट्युमर फैलिएपछि श्वासप्रश्वासमा पनि समस्या देखिन थालेको थियो ।
५ घण्टा लामो शल्यक्रिया गरेर ती बालकको मेरुदण्डमा फैलिएको ट्युमर निकालेको र हिँडडुल गर्न सक्ने भएपछि कार्डियो थोरासिक भास्कुलर युनिट (सीटीभीएस)का एसोसिएट प्राध्यापक डा. लोकेश जैसवाल र डा. विजय साहको टोलीले फोक्सोमा फैलिएको ट्युमरको शल्यक्रिया गरेका थिए ।
उनका अनुसार ती बालकलाई उपचारका लागि वैशाख ४ गते भर्ना गरेर गत जेठ १ गते डिस्चार्ज गरिएको थियो । सोमबार फलोअपका लागि बोलाइएका ती बालकको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको डा. दाहालले दाबी गरे ।