काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच घूस लेनदेनसम्बन्धी टेलिफान संवादबारे न्यायपरिषद्ले रामप्रसाद श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ । बुधबार बसेको न्यायपरिषद्को बैठकले छनबिन समिति गठन गर्ने निर्णय गरेको हो ।
नेपाल बार एसोसिएसनका पूर्व कोषाध्यक्ष रुद्रप्रसाद पोखरेल र काठमाडौंका जिल्ला न्यायाधीश कोइरालाविचको करिब १० मिनेटको टेलिफोन संवाद सार्वजनिक भएको हो ।
कुराकानीका क्रममा अधिवक्ता पोखरेलले सिभिल सहकारीका पूर्व अध्यक्ष ईच्छाराज तामाङलाई धरौटीमा छाड्न आग्रह गर्दै १० करोड रुपैयाँ रकम प्रस्ताव गरेका छन् । त्यसमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको पनि साथ हुने भन्दै उनले प्रलोभन दिएका थिए ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश कोइरालाले भने आफूले अनुचित कार्य नगरेको दाबी गरेका छन् । साथै उनले आफ्नाबारे सार्वजनिक भएको समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।