काठमाडौं ।
चालु आर्थिक वर्षमा मुलुकमा घाटा बढ्दै गएको छ।
आर्थिक वर्ष २०७८र७९ को ९ महिनामा मुलुकमा व्यापार घाटाको १३ खर्ब भन्दा माथि रहेको भन्सार विभागको तथ्यांकले देखाएको छ । भन्सार विभागको तथ्यांक अनुसार चैत मसान्तसम्म आयातमा विदेशिएको रकम र निर्यातबाट प्राप्त भएको रकमका बीचको अन्तर १३ खर्ब ६ अर्ब ८ करोड ९० लाख रुपैयाँ रहेको छ ।
यस अवधिमा कुल वस्तु आयात १४ खर्ब ६६ अर्ब ६६ करोड रुपैयाँ बराबरको भएको छ । सोही अवधिमा निर्यात भने मात्र १ खर्ब ६० अर्ब ५७ करोड रुपैयाँ बराबरको भएको छ । जसले गर्दा व्यापार घाटा १३ खर्ब भन्दा माथि देखिएको हो ।
नेपालको कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९०।१३ प्रतिशत र निर्यातको हिस्सा ९.८७ प्रतिशत रहेको छ । ९ औं महिनासम्म आइपुग्दा निर्यातमा देखिएको उच्च वृद्धिका कारण निर्यातको हिस्सा समेत बढ्दै गएको पाइएको छ ।
तथ्यांक अनुसार आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा त्यसयता भने उच्च आयातको दरमा केही ब्रेक लाग्दै गएको देखिएको छ । सरकारले विलासिताका वस्तुको आयातमा गरेको कडाईको प्रभाव आयातमा देखिन थालेको छ ।
भन्सार विभागका अनुसार चैत मसान्तसम्म कुल १४ खर्ब ६६ अर्ब ६६ करोड रुपैयाँ बराबरको आयात भएको छ ।