राप्रपाको घोषणा पत्र : सुत्केरीलाई भत्ता, ५० प्रतिशतसम्म कर कटौती

केन्द्रभाग मिडिया

File photo

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले स्थानीय तह निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गरेको छ । राप्रपाले आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि बुधबार ४ पेज लामो घोषणा पत्रमा सार्वजनिक गरेको हो ।

घोषणा पत्रमा राप्रपाले सुशासन, शिक्षा, स्वास्थ्य, कृषि तथा पशु, खानेपानी, कर व्यवस्था, युवा तथा खेलकुद, भौतिक संरचना, सामाजिक, महिला, रोजगार तथा अन्य कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

घोषणा पत्रमा पहिलो प्रथामिकता सुशासलाई दिइएको छ । सुशासनभित्र भ्रष्टाचारमुक्त स्थानीय तह, जनतालाई निष्पक्ष र छिटो छरितो सेवा, चुनाव जितेको ६ महिनाभित्र विपन्न परिवारको पहिचान गर्ने र ६ महिनाभित्र सबै स्थानीय ऐनहरुको निर्माण तथा परिमार्जन गर्ने भनिएको छ ।

शिक्षातर्फ १२ कक्षासम्मका पूर्ण निःशुल्क शिक्षा, सबै स्थानीय तहमा प्राविधिक धारको विद्यालय, छात्राहरुलाई निःशुल्क सेनेटरी प्याड वितरण, छात्रा शौचालयको व्यवस्था गरिने घोषणा पत्रमा उल्लेख छ ।

स्वास्थ्यतर्फ सबै नागरिकलाई अनिवार्य तथा निःशुल्क स्वास्थ्य बीमा, सुत्केरीलाई ३ महिनासम्म मासिक ३ हजार भत्ता दिने पनि घोषणा पत्रमा उल्लखे गरिएको छ ।

कतरतर्फ हाल कायम स्थानीय करको दर परिमार्जन गरी ५० प्रतिशतसम्म स्थानीय कर कटौती गरेर न्युनतम करको व्यवस्था गर्ने राप्रपाले घोषणा पत्रमा उल्लेख गरेको छ । साथै, रोजगारमूलक उद्योग स्थापना गर्नेलाई भौतिक पूर्वाधार निर्माणमा सहयोग तथा १० वर्षसम्म स्थानीय कर छुट दिने पनि घोषणा पत्रमा भनिएको छ ।

महिलाद्वारा सञ्चालित साना तथा घरेलु उद्योग व्यवसायमा १२ वर्षसम्म स्थानीय कर छुट दिने घोषणापत्रमा उल्लेख छ ।

  • ७ बैशाख २०७९, बुधबार १६:१४ प्रकाशित