गठबन्धनको बैठक सर्‍यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज बिहान साढे ११ बजे बस्ने भनिएको सत्तारुढ गठबन्धनको बैठक सरेको छ ।

महानगर र उपमहानगरमा सिट बाँडफाँड मिलाउन सकस परिरहेको गठबन्धनले आज टुंग्याउने प्रयास गर्ने भएको छ । गठबन्धन दलका नेताहरुका अनुसार नेपाली काँग्रेसले समय मागेकाले साढे ११ बजेका लागि तय भएको गठबन्धनको बैठक दिउँसो २ बजेका लागि सारिएको हो ।

सोमबार दुई पटक बसेको गठबन्धन बैठकमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीबीच पोखरा महानगरको दावी नछोडेपछि सहमति हुन सकेको थिएन । यसैबीच नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुुर देउवाले काँग्रेस कास्कीका नेताहरुलाई काठमाडौं बोलाएका छन् ।

हिजो कास्की कांग्रेसले एकीकृत समाजवादीसँग तालमेल गर्न नसकिने भन्दै विज्ञप्ति निकालेपछि गठबन्धनभित्र तरंग पैदा भएको छ । सोही विषयमा छलफल गर्न देउवाले कास्की जिल्ला सभापति किशोरदत्त बरालसहितका नेतालाई काठमाडौं बोलाएका हुन् । उनीहरुसँग छलफल गरेपछि गठबन्धनमा छलफल गरेर सहमति जुटाउने प्रयास हुने भएको छ।

  • ६ बैशाख २०७९, मंगलवार १३:०० प्रकाशित