पर्यटक आगमनले व्यवसायी उत्साही, पोखरामा होटल अकुपेन्सी ५० प्रतिशत

केन्द्रभाग मिडिया

उमा विक

कोरोना संक्रमणको कहर विस्तारै मत्थर भएसंगै पोखरामा पर्यटकको आगमन बढेको छ । पर्यटकको अगमनले आफूहरुलाई उत्साही बनाएको यहाँका पर्यटन व्यवसायीले बताएका छन् । पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले कोरोना संक्रमण मत्थर भएसंगै पर्यटकको आगमनले आफूहरुलाई निकै उत्साहित बनाएको बताए ।

सुरुमा आन्तरिक पर्यटक मात्र आउँछन् र विस्तारै बाहिय पर्यटक आउने हुन्छ भन्ने अनुमान गरिएकोमा सुरुमै स्वदेशीसंगै विदेशी पर्यटकको पनि आगमनले आफूहरु उत्साहित भएको उनको भनाई छ । ‘सुरुमा आन्तरिक पर्यटक आउलान भन्ने थियो । विस्तारै विदेशी पर्यटक आउन थाल्ने र पर्यटन क्षेत्र पनि विस्तारै उठ्ला भन्ने लागेको थियो । जसरी विदेशी पर्यटकहरुसमेत आउन थाले यसले हामीलाई अत्यन्त उत्साहित बनाएको छ’ उनले भने ।

खोपको उचित प्रवन्ध, नेपाल शान्त र सुरक्षीत छ भन्ने सन्देश दिन सकेकै कारण बाहिय पर्यटकको समेत आगमन छिट्टै भएको उनले विश्लेषण सुनाए । ‘सरकारले खोपको व्यवस्थापन राम्रोसंग ग¥यो । नेपाल सुरक्षीत छ भन्ने सन्देश विश्वमा पुगेकै कारण यसरी विदेशी पर्यटक आउन सम्भव भएको हो’ उनले भने ।

भट्टराईले पोखरा क्षेत्रका होटलको अकुपेन्सी अहिले ५० प्रतिशत रहेको बताए । ठूला र नाम चलेका होटलको अकुपेन्सी करिव सतप्रतिशत नै रहेको उनले बताए । नयाँवर्षको अवसरमा केही दिन झण्डै ८० प्रतिशत अकुपेन्सी रहेकोमा अहिले पर्यटक आउने जाने क्रम जारी रहेकाले केही प्रतिशत तलमाथि भएको उनको भनाई छ । उनले अहिले वाह्य पाहुना २०-२५ प्रतिशत रहेको उनको भनाई छ । उनका अनुसार बाँकी आन्तरिक पर्यटक नै छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सञ्चालनमा आए, बन्द, हड्ताल, चक्काजाम जस्ता गतिविधि नभए, पर्यटकका लागि स्वास्थ्य प्रोटोकलको सुरक्षीत व्यवस्था, राजनीतिक स्थिरता, पर्यटक आर्कषित गर्ने खालका कार्यक्रम ल्याउन सके र कोरोना संक्रमण नबढे अबको सिजनदेखि विदेशी पर्यटक थप आउनेमा आफुहरु ढुक्क रहेको उनको भनाई छ ।

नेपाली नयाँवर्षको अवसरमा ३० चैत २०७८ र नयाँ नयाँ वर्षको पहिलो दिन १ बैशाखामा फेवा नववर्षको अवसरमा आएका पाहुनाले अब पर्यटकीय क्षेत्र चलायमान भएको सन्देश दिएको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।

कोभिड १९ संक्रमणका कारण झण्डै दुई वर्ष ठप्पै बनेको पोखराको पर्यटन क्षेत्र घ्रिसिने अवस्थाबाट खुट्टामा उभिन थालेको उनको विश्लेषण छ । अहिले पोखरा र आसपासका पर्यटकी गन्तव्यमा आन्तरिक र वाह्य पर्यटकको पनि भिडभाड बढ्न थालेको पर्यटन व्यवसायीहरु बताउँछन् ।

सुवेदीको अनुसार हाल आन्तरिकसँगै छिमेकी मुलुक भारत, चीन, बंगलादेश र केही युरोपेली पाहुना भित्रिइरहेका छन् । समर (गर्मीयाम) ट्रेकिङको सिजन भएकाले विदेशी पर्यटकहरु पनि आउने क्रम अब बढ्ने सुवेदीले बताए ।

पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष चिरञ्जिवी पोखरेलले अहिले विदेशी र आन्तरिक पर्यटक उत्तिकै हाराहारीमा आएको अनुभव सुनाए । ‘अहिले विदेशी र स्वदेशी पर्यटकको आगमन उस्तै उस्तै देखिन्छ । मेरो होटल (होटल लेक शोर)मा आन्तरिक भन्दा बाह्य पर्यटक नै आएका छन् । अधिकांश राम्रा होटलमा अवस्था यस्तै देख्छु’ उनले भने ।

  • ४ बैशाख २०७९, आईतवार १५:४६ प्रकाशित